तालाबन्दी र धर्नाले चन्द्रनगर गाउँपालिका कार्यालय तीन दिनदेखि ठप्प

3
आईतबार दिउँसो चन्द्रनगर गाउँपालिका कार्यालयको मूल गेटमा धर्ना दिईरहेका स्थानीय बासिन्दा । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयको कामकाज तीन दिनदेखि ठप्प भएको छ ।

गाउँपालिकाको केन्द्र सार्न खोज्दा उत्पन्न विवादले गत शुक्रवारदेखि गाउँपालिका कार्यालय खुल्न नसकेको हो । गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो लगायतले चन्द्रनगरमा रहेको केन्द्र बबरगंजमा सार्ने षडयन्त्र गरेको भन्दै चन्द्रनगर, कामत, खड्काटोल, लोदुवा, नारी लगायत गाउँका बासिन्दाले गत शुक्रबारदेखि गाउँपालिका कार्यालयमा तालाबन्दी सहित लगातार धर्ना र विरोध प्रदर्शन गरिरहेका छन् । तालाबन्दी एवं धर्नाका कारण अत्यावश्यक काम गराउनुपर्ने सेवाग्राही मारमा परेका छन् । विरोध प्रदर्शन र कार्यालयमा तालाबन्दी गरिएका कारण कर्मचारीहरु चन्द्रनगर बजार स्थलमा पुगेपनि त्यतिकै बसेर फर्किरहेका छन् ।

आईतबार दिउँसो चन्द्रनगर स्थित गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसबाट चन्द्रनगर गाउँपालिकामा अध्यक्षका प्रत्यासी श्याम सिंहले गाउँपालिका अध्यक्ष महतोले जबर्जस्त रुपमा गाउँपालिका कार्यालय सार्ने प्रपञ्च रचेको आरोप लगाए । गाउँपालिकाको सबैभन्दा बढी आन्तरिक आम्दानी हुने एवं ऐतिहाँसिक स्थल नारिमन ताल छेउमै रहेको कार्यालयलाई अध्यक्ष महतोले आफ्नै घर रहेको बबरगंजमा सार्न खोजेकाले आफूहरु विरोधमा उत्रिएको सिंहले बताए । गाउँपालिका कार्यालय सार्ने कामको विरोध गर्ने वडा नं. ४ का वडाध्यक्ष लगायतलाई धम्की दिने र केही वडासदस्यलाई लाखौं रकमको लोभ देखाउने कार्य समेत भएको उनले दाबी गरे । गाउँपालिका अध्यक्ष लगायतबाट कार्यालय नसार्ने प्रतिबद्धता नआएसम्म विरोध प्रदर्शन जारी रहने सिंहले चेतावनी दिए ।

पत्रकारहरुसँग बोल्दै चन्द्रनगर गापा–७ का वडा सदस्य रामस्वरुप चौधरीले गाउँपालिका कार्यालय बबरगंजमा सार्नका लागि विशेष गाउँसभामा सहभागि भई सहमति जनाए आफूलाई दुई लाख रुपैंया दिने प्रलोभन देखाईएको तर आफूले नमानेको दाबी गरे । त्यस्तै ४ नम्बर वडाका वडाध्यक्ष जगदिस साहले आफूलाई गाउँपालिका कार्यालय सार्नका लागि आव्हान गरिएको विशेष गाउँसभामा सहभागि हुनका लागि अपहरण नै गर्ने तयारी गरिएपनि आफूले प्रतिकार गरेको र गाउँपालिका अध्यक्ष महतोको उक्त कार्य सफल हुन नसकेको दाबी गरे ।

यता शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तिहाई बहुमत नपुगेपछि तत्कालका लागि गाउँपालिकाको केन्द्र सार्ने निर्णय भने हुन सकेन । गाउँपालिका अध्यक्ष महेन्द्र महतोले शनिबार राती अबेरसम्म चलेको विशेष गाउँसभामा दुई तीहाई बहुमत नपुगेका कारण तत्काललाई गाउँपालिकाको केन्द्र सार्ने निर्णय हुन नसकेको जानकारी दिए । ३९ जना गाउँसभा सदस्यमध्ये कम्तिमा २६ जना (दुईतीहाई) ले सहमति नजनाएसम्म केन्द्र सार्ने निर्णय हुन सक्दैन । स्रोतका अनुसार केन्द्र सार्ने पक्षमा २५ जना सदस्य मात्र सहभागी भएका छन् ।

वडा नं.४, ६ र ७ का वडाध्यक्ष सहित वडासदस्यहरु केन्द्र सार्ने निर्णय गर्नका लागि आव्हान गरिएको विशेष गाउँसभामा उपस्थित नभएको बताईएको छ । अध्यक्ष महतोको अनुसार बबरगंज स्थित दुर्गा जनता खोभारी माविमा विशेष गाउँसभा बसेको थियो । उनका अनुसार दिउँसो ११ बजे बैठक बोलाएपनि २ बजेबाट मात्र सूरु भएकाले राती अबेरसम्म बैठक चलेको थियो । गाउँपालिकाको केन्द्र सार्ने निर्णय मात्र नभई गत आर्थिक वर्षको आयव्यय पारित गर्ने, चालू आर्थिक वर्षको बजेट संशोधन गर्ने लगायत विषयमा समेत छलफल गर्न विषेश गाउँसभा बोलाईएको अध्यक्ष महतोले दाबी गरे ।

‘दुईवटा वडा बाहेक ५ वटा वडाका वडाध्यक्ष सहित वडासदस्य एवं गाउँलेले पहिलादेखि नै गाउँपालिका कार्यालय सार्न मलाई दबाव दिँदै आएका छन्, चुनावमा उठ्दादेखि नै मलाई अधिकांश मतदाताले कार्यालय सार्नुपर्ने प्रतिवद्धता मागेका थिए, त्यसैले विशेष गाउँसभा बोलाएको थिएँ, तर दुईतीहाई पुगेन ।’, अध्यक्ष महतोले आईतबार दिउँसो पत्रकारहरुसँग भने, ‘दुईतिहाई मतले नेपालकै संविधान संशोधन हुनसक्छ भने, कार्यालय सार्ने कुरा किन हुन सक्दैन, तर प्रकृया नपु¥याई केही पनि हुँदैन, अहिले कार्यालय सरिसकेको छैन, गाउँसभाको दुईतीहाई बहुमतले निर्णय पारित गरेर सिफारिस गर्ने र प्रदेश हुँदै केन्द्रले स्वीकृति दिएपछि मात्र केन्द्र सर्छ, यहाँ त सबै कागजात लगिसक्यो भन्दै अनावश्यक हल्ला चलाएर भिडन्तको अवस्था सृजना गरिएको छ ।’

गाउँपालिकाको हरेक निर्णयमा सर्वदलिय प्रतिनिधि बोलाएर सर्बसम्मतिका आधारमा विकास निर्माण सहित हरेक कामहरु गर्न आफूले प्रयास गरेपनि बिकास विरोधी एवं राजनैतिक प्रतिशोध साँध्ने तत्वहरुको कारण केही काम हुन नसकेको अध्यक्ष महतोको गुनासो थियो । उनले हाल कार्यालय रहेको स्थान निकै कोल्टे परेकाले गाउँपालिका बासीलाई पायक नपरेको समेत दाबी गरे ।

गाउँपालिकाको केन्द्र सार्न खोजिएको बबरगञ्ज गाउँपालिका अध्यक्ष महतो र उनका दाई जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो तथा प्रदेश सांसद् उपेन्द्र महतोको आफ्नै गाउँ हो ।

गाउँपालिका कार्यालय सार्न खोजेको भन्दै आक्रोशित स्थानीयको विरोध प्रदर्शनका कारण शुक्रबार दिउँसो चन्द्रनगर गाउँपालिका अन्तर्गत चन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको थियो । गाउँपालिकाका अध्यक्ष महतोका स्वकिय सचिवलाई स्थानीय आक्रोशित समूहले आक्रमण गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा केहीबेर चन्द्रनगर तनावग्रस्त बनेको हो । आक्रोशित भिडलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशष्त्र प्रहरीले १३ सेल अश्रुग्याँस समेत प्रहार गरेको थियो ।

प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरका अनुसार गाउँलेको ढुंगा प्रहारबाट दुईवटा ढाल फुटेको छ भने ४ जना प्रहरी सामान्य घाईते भएका थिए । त्यस्तै प्रहरीको लाठीचार्ज एवं अश्रुग्याँस प्रहारबाट डेढ दर्जन बढी प्रदर्शनकारी सामान्य घाईते भएको स्थानीय बासिन्दाले दाबी गरेका छन्

हाल वडा नं. ७ नारिमन ताल छेउमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगंज सार्न खोजेको भन्दै वडा नंं ६ र ७ का बासिन्दाले शुक्रबारदेखि गाउँपालिका कार्यालय भवन तथा चन्द्रनगर बजारमा जम्मा भएर विरोध प्रदर्शन गरिरहेका छन् । हाल गाउँपालिका कार्यालय रहेकै वडा नं. ७ का बासिन्दा गाउँपालिका अध्यक्ष महतोका स्वकिय सचिब साहको मुख्य हात रहेको भन्दै स्थानीय बासिन्दाको समूहले कुटपिट गरेको बताईएको छ ।

केन्द्र सार्ने विषयमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । कांग्रेस सर्लाहीका पूर्व सभापति सत्यदेव सिंह दनुवारले गाउँपालिका कार्यालय सारेको भन्दै स्थानीय बासिन्दाको समूहले विरोध प्रदर्शन गरेको जानकारी दिए ।