कार्कीले दिए जन्मदिनमा आश्रमलाई खाद्यान्न

10
आश्रममा दिप प्रज्वलन गरेर खाद्यान्न सहयोग गर्दै कार्की । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, चापिनी निवासी भरत कुमार कार्कीले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवाश्रम नयाँरोडमा खाद्यान्न सहयोग गरेका छन् ।

सडक मानव, अशक्त, अभिभावक विहिन, मानसिक समस्या भएका बिरामी लगायतलाई आश्रय दिन स्थापना गरिएको आश्रममा बागमती सेवा समाजका अध्यक्ष एवं नेकपाका नेता समेत रहेका समाजसेवी कार्कीले शनिबार ४ बोरा चामल, २५ किलो चिनी, १५ किलो आलु र १ कार्टुन तेल प्रदान गरेका हुन् । कार्यक्रममा नेकपा नेताहरु सुरेन्द्र लामा, श्यामबाबु कार्की, नेपाली कांग्रेसका युवा नेताहरु दिनेश केसी, रामहरि बुढाथोकी लगायतको समेत उपस्थिती रहेको थियो ।

त्यस्तै, लालबन्दी नगरपालिका–७, बजारका खेमराज फूँयाल र होमकुमारी फुँयालले आफ्नो ५० औँ वैवाहिक वर्षगाँठको अवसरमा शनिबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रम जुटपानीमा भोजन गराएका छन् । फुँयाल दम्पत्तिले छोराछोरीसहित आश्रममा पुगेर बिहानको एक छाक भोजन गराएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।