सर्लाहीको हरिपूर्वामा ट्याक्टर पल्टियो, एकको मृत्यु, दुई घाईते

5
सांकेतिक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीमा केहीबेर अघि (बिहिवार साँझ) ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।

छड, सिमेन्टलगायत निर्माण सामग्री बोकेको ट्याक्टर आफै अनियन्त्रित भएर पल्टिएको हो । ज १ त प्रदेश २ – २२९६९ नम्वरको ट्याक्टरको टेलर पल्टिएर ज ८ प ९२१३ नम्वरको मोटरसाइकललाई समेत किचेको हरिपूर्वाका संचारकर्मी मुकेश झाले जनाएका छन् ।

दुर्घटनामा ट्याक्टरको टेलरमा बसेका कामदार सर्लाहीकै पर्सा गाउँपालिका–४ का लालबाबु रायका छोरा १८ वर्षीय रवी रायको घटनास्थलमै ज्यान गएको हो । उनको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल मलंगवा लाने तयारी भइरहेको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक धनकौल पूर्वारीकै अन्दाजी २३/२४ वर्षका ब्रम्हनारायण राय र त्यही ठाउँका अन्दाजी २२/२३ वर्षका मनोज महतो घाईते भएका छन् । उनीहरुको हरिपूर्वामा उपचार चलिरहेको संचारकर्मी झाले बताए ।

दुर्घटनापछि ट्याक्टर प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन् ।