ओलीविरुद्ध काँग्रेस आफैले अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्छ : गगन थापा

पत्रकार सम्मेलनमा नेता थापा ।

मलंगवा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काँग्रेस आफैले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन सर्लाहीले बिहिवार सदरमुकाम मलंगवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले अर्काले ल्याएको अविश्वासको प्रस्तावमा मद्धत गर्ने नभई काँग्रेस आफैले प्रस्ताव दर्ता गर्नुपर्ने बताएका हुन् । उनले काँग्रेसलाई सरकारमा बस्ने म्यान्डेड प्राप्त नभएकाले तत्काल प्रतिपक्षमै बस्नुपर्ने आफ्नो व्यक्तिगत राय रहेको बताए ।

काँग्रेस नेता थापाले निर्वाचन आयोगले नेकपाको विवादबारे निर्णय दिन ढिला गर्दा प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदममा मद्धत पुगिरहेको आरोप समेत लगाए । आयोगले निर्णय नदिँदा प्रधानमन्त्री ओलीले कम्प्युनिष्ट पार्टी फुटेको छैन्, त्यसैले म नै बहुमतको प्रधानमन्त्री हुँ भन्दै लामो समय संसदलाई बन्धक बनाएर राख्ने अवस्था रहेको नेता थापाको तर्क छ ।

उनले अब भदौमा हुने पार्टीको महाधिवेशनले लाखौँ युवा पुस्तालाई पार्टीमा आकर्षित गर्न सक्नुपर्नेमा जोड दिए ।