ओली दम्भी अनि प्रचण्ड र नेपाल लोभी भएको गगन थापाको आरोप

12
कार्यक्रममा प्रमुख अतिथि गगन थापालाई माला लगाएर सम्मान गरिँदै । (तस्बिर : उज्यालो अभियान)
कार्यक्रममा उपस्थित प्रमुख अतिथि थापा सहित कांग्रेस नेताहरु । (तस्बिर : उज्यालो अभियान)

धनकौल – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले केपी शर्मा ओलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरु पुष्पकमल दाहाल र माधवकुमार नेपाल लोभीपापी भएको आरोप लगाएका छन् ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

मंगलबार दिउँसो सर्लाहीको धनकौल बजारमा नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय समितिद्वारा आयोजित आमसभामा बोल्दै नेता थापाले नेकपा नेताहरु प्रचण्ड र नेपाल लोभी भएको दाबी गरे । प्रचण्ड र नेपाल नेतृत्वको नेकपाको आन्दोलन मुलुक र जनताका लागि भन्दापनि प्रधानमन्त्री ओली विरुद्ध र आफुलाई पदमा आसिन गराउनकै लागि भएको कांग्रेस नेता थापाको दाबी थियो । ‘प्रधानमन्त्री केपी ओलीमा दम्भ देखियो अनि प्रचण्ड र नेपाल सहितका अर्को समुहका नेताहरु लोभी देखिए’, नेता थापाले भने, ‘अनि देशकै प्रधानमन्त्री पनि असुरक्षीत छु भन्दै लुरे पनि बनेका छन् ।’

कांग्रेसका प्रखर वक्ता समेत रहेका नेता थापाले प्रधानमन्त्री ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको समेत संज्ञा दिएका छन् । प्रधानमन्त्री आफैले मेरो जीउज्यान असुरक्षित छ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु भन्दै प्रतिप्रश्न समेत गरे । प्रधानमन्त्री ओलीले पोखरा पुगेर ‘ममाथि तलमाथि भए अच्चम्म मान्नु पर्दैन’ भन्ने अभिव्यक्ति दिएको प्रति कांग्रेस नेता थापाले सोही कुरालाई इंगित गर्दै काँग्रेस केन्द्रीय सदस्य थापाले प्रधानमन्त्रीबाट त्यस्तो अभिव्यक्ति आउनु लज्जास्पद रहेको भन्दै कटाक्ष गरेका छन् ।

कांग्रेस नेता थापाले ओलीको बोलीको ठेगान नै नरहेको समेत दाबी गरे । उनले निर्वाचन आयोगले नेकपाको आधिकारिताबारे निर्णय दिन ढिला गरेर ओलीका गलत हर्कतहरुलाई साथ दिइरहेको पनि आरोप लगाए । पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य थापाले विरोध गरेपनि पहिले भने प्रचण्ड–माधव समूहका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कामकारवाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताए ।

उनले यो बेलामा कांग्रेस सरकारमा जाने हतारो गर्नुभन्दा पनि संविधान रक्षाकै निम्ती उभिन जरुरी रहेकोमा जोड दिए । त्यस्तै जनताले पत्याएर एकचोटीका लागि झण्डै दुईतिहाई नजिक मत दिएपनि सत्ताधारी नेकपाका नेताहरुले जनमतको दुरुपयोग एवं आ–आफ्नो स्वार्थमा केन्द्रीत हुँदा मुलुक संकटमा फसेको बताए । संसद्मा अंकगणितीय खेल हुँदा मुलुक संकटमा फसेको उनको भनाई थियो । हरेक संकटको घडीमा कांग्रेसले मुलुकलाई नेतृत्व दिँदै जोगाएको दाबी गर्दै अहिलेको अवस्थामा पनि मुलुकलाई जोगाउनका लागि कांग्रेसकै आवश्यकता रहेको नेता थापाले दाबी गरे ।

सभालाई पार्टीका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, पार्टीका जिल्ला सभापति एवं संघीय सांसद नागेन्द्रकुमार राय, संविधान सभा सदस्य हरेश महतो, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय लगायतले सम्वोधन गरेका थिए । पार्टीको ४ नं. क्षेत्रका क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षतामा आयोजित कार्यक्रममा झण्डै सातसयको संख्यामा अन्य पार्टीका नेता कार्यकर्ता कांग्रेसमा भित्रिएको कार्यक्रम संचालक एवं प्रदेश सभा सदस्य वीरेन्द्र प्रसाद सिंहले दाबी गरेका छन् । नवप्रवेशी कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि थापा लगायतले अबिर र माला लगाएर स्वागत गरेका थिए ।

यसैबीच कांग्रेस नेता गगन थापालाई नेपाली कांग्रेस धनकौलले ५१ किलोको माला लगाएर सम्मान समेत गरेको छ । प्रदेश सांसद् सिंहले कांग्रेसका उर्जावान एवं प्रखर नेतालाई ५१ किलोको माला लगाएर सम्मान गरिएको बताए । कार्यक्रममा हाँस्यव्यंग्य कलाकार शिवशंकर रिजाल अर्थात जोगेन्दर पानवालाले विभिन्न हाँस्यव्यंग्य प्रस्तुती दिएका थिए भने सांस्कृतिक नृत्य सहित तेक्वान्दोका खेलाडीहरुले समेत प्रस्तुती गरेका थिए ।

मंगलबार बिहान सर्लाही प्रवेश गरेका कांग्रेस नेता थापा धनकौलमा दिउँसो कार्यक्रम पश्चात रात्रीबास समेत उतै बसेका छन् । बुधबार बिहान धनकौलमा कांग्रेस नेता कार्यकर्तासँग भेटघाट पश्चात थापा चन्द्रनगर गाउँपालिका अन्तर्गत बबरगंज निवासी राजकुमार महतोको निवासमा खाना खाने र नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । बबरगंजमा खाना खाएपछि उनी ब्रम्हपुरी गाउँपालिका अन्तर्गत भेल्हीमा पार्टीले आयोजना गर्ने कार्यक्रममा सहभागि हुने र दिउँसो उद्योग वाणिज्य संघ मलंगवा र चिकित्सकहरुको कार्यक्रममा सहभागि हुनेछन् । बुधबार राती उद्योग वाणिज्य संघ मलंगवाका अध्यक्ष ईश्वरचन्द्र गुप्ताको घरमा बास बसेर विहिबार बिहान सर्लाहीबाट बाहिरिने बताईएको छ ।