लालबन्दीमा पञ्चेबाजा बजाएर संसद् पुनर्स्थापनाको स्वागत

9
संसद् पुनर्स्थापना गर्ने सर्बोच्च अदालतको फैसलाको पक्षमा बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले लालबन्दीमा निकालेको पञ्चेबाजा सहितको स्वागत र्याली । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी, फागुन १२ – प्रतिनिधि सभा पुनर्स्थापनाको गर्ने सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै सर्लाहीको लालबन्दीमा बुघबार दिउँसो पञ्चेबाजासहित स्वागत र्याली निकालिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहले लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा पञ्चेबाजासहित खुसीयाली र्याली निकालेको हो । नेकपा लालबन्दी नगर कमिटीको आयोजनामा निकालिएको र्याली लालबन्दी नगरपालिका कार्यालय अगाडिबाट सुरु भई डुमडुमे मन्दिर हुँदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

सभालाई सम्वोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, प्रदेश कमिटी सदस्य एवं प्रदेश सभा सदस्य बेची लुंगेली, प्रदेश कमिटी सदस्य लुमणिप्रसाद धिमाल(लोचन), जिल्ला कमिटी सदस्य एवं लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का, उपमेयर शान्ति लामा लगायतले सर्वोच्च अदालतको फैसला ऐतिहाँसिक र न्यायको पक्षमा रहेको भन्दै खुसी व्यक्त गरे । पार्टीका नगर सचिव लेखराम जर्गा मगरको सञ्चालन रहेको सभाको समापन नगर अध्यक्ष डिल्ली अधिकारीले गरेका थिए । त्यसैगरी, सदरमुकाम मलंगवा, बरहथवा, धनकौल, बलरा लगायतका स्थानमा पनि सर्बोच्च अदालतको फैसलाको स्वागतमा र्याली निकालिएको नेकपा जिल्ला सचिव कमल बुढाथोकीले बताए ।

यसैबीच, नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतते संसद् व्युँताएकोमा खुसी व्यक्त गरेका छन् । विज्ञप्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको खारेज गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरी देशलाई अध्यारो सुरुङतर्फ जानबाट बचाँएकोमा सर्वोच्च अदालत र संवैधानिक ईजलासका सम्पूर्ण न्यायाधीशहरुको शाहसीक निर्णयका लागि धन्यवाद ज्ञापन गरिएको छ । यो बीचमा सदरमुकाम मलंगवा, काठमाण्डौं र स्थानीय स्तरमा भएका विभिन्न आन्दोलनका कार्यक्रममा सहभागी पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकलगायत सहयोग गर्ने सम्पूर्णमा जिल्ला अध्यक्ष पन्तले विज्ञप्तीमार्फत कृतज्ञता व्यक्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस, जसपा लगायत पार्टीका नेता कार्यकर्ताहरुले समेत जिल्लाका विभिन्न स्थानमा मंगलबार साँझैदेखि बुधबार दिनभर पनि पटक–पटक सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै र्यालीहरु प्रदर्शन गर्ने काम भईरहेको छ ।