हरिवनको मानव सेवा आश्रमलाई जनकपुर उपमहानगरको सहयोग

3
आश्रमलाई सहयोग स्वरुप चेक प्रदान गर्दै जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्का र जन्मदिन मनाउन आश्रम पुगेका पोखरेल (दायाँ) ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा सञ्चालित प्रदेशस्तरीय मानव सेवा आश्रमलाई जनकपुरधाम उपमहानगरपालिकाले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

हरिवन नै घर भएका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खड्काले शनिवार आश्रममा आएर सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । प्रमुख प्रशासकीय अधिकृत खड्काले आश्रमले गरिरहेको बेवारिसे सडक मानवहरुको उद्धार जस्तो उच्च सामाजिक कामको सम्मान गरी उपमहानगरले थोरै भए पनि सहयोग प्रदान गरेको बताए ।

यस्तै, आफ्नो जन्मदिनको अवसर पारेर हरिवन नगरपालिका–८, का राधेश्याम पोखरेलले आश्रममा राखिएकाहरुलाई शनिवार बिहानको एक छाक भोजन गराएको अभियन्ता सुकदेव कार्कीले जानकारी दिए । यसअघि हरिवनस्थित सर्लाही जीवन अस्पतालका संस्थापक अर्जुन मैनाली र अमृता उप्रेतीले माघ ७ गतेदेखि शनिबारसम्म निरन्तर एक महिना सम्म आश्रममा आश्रीतहरुलाई बिहानको एक छाक भोजन गराएका थिए ।

आश्रममा अहिले विभिन्न ठाउँका सडकबाट उद्धार गरेर ल्याइएका एक बालक, १० जना भन्दा बढी महिला समेत गरी ६० जनालाई पालनपोषण गरेर राखिएको छ । यता लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा दुई जनाले शनिवार बिहान र बेलुका दुवै छाकको भोजन गराएका छन् । जुटपानी निवासी राधा रिजालले दिवंगत श्रीमान विष्णु रिजालको सम्झनामा बिहानको र सोही ठाउँका रघुनाथ कँडेलले श्रीमती महालक्ष्मी कँडेलको स्मृतिमा बेलुकाको खानाको प्रवन्ध मिलाएका हुन् ।