मनकारी समाजसेवी आचार्यद्वारा विद्यालयलाई डेक्स–बेन्च प्रदान

3
विद्यालयको तर्फबाट समाजसेवी मनोज आचार्य (दायाँ) लाई कदर पत्रबाट सम्मान गरिँदै । (तस्बिर : उज्यालो अभियान)

चन्द्रनगर – समाजसेवी मनोज आचार्यले सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वामा रहेको राम जनता माध्यमिक विद्यालयलाई फर्निचर सहयोग गरेका छन् ।

स्वर्गिय आमाको स्मृतिमा स्थापित अप्सरा आचार्य मेमोरियल फाउण्डेसनको नामबाट आचार्यले विद्यालयलाई ३० थान डेक्स, बेन्च हस्तान्तरण गरेका हुन् । ईश्वरपुर नगरपालिका–३, भक्तिपुर निवासी आचार्यले सुक्रवार चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोको प्रमुख आतिथ्यतामा डेक्स, बेन्च हस्तान्तरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष महतोले समाजसेवी आचार्यले गरेको सहयोगले सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने गाउँपालिकाको योजनामा टेवा पुगेको भन्दै आचार्यप्रति धन्यवाद प्रकट गरे । यस्तै, समाजसेवी आचार्यले कलिला बालबालिकालाई डेक्स, बेन्चको अभावमा पठनपाठन गर्न गाह्रो नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको बताए ।

सहयोगप्रति आभार व्यक्तगर्दै विद्यालयले आचार्यलाई कदर पत्र प्रदान गरी सम्मान गरेको छ । फर्निचर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साह, शिक्षा शाखा प्रमुख हरिकान्तलाल कर्ण, नेपाली काँग्रेसका पूर्व पार्टी जिल्ला सभापति सत्यदेव सिंह दनुवार लगायतको उपस्थिति रहेको थियो ।

समाजसेवी आचार्यले समय–समयमा यस्ता सामाजिक काम गर्दै आएका छन् । उनले चार दिनअघि मात्रै ईश्वरपुर नगरपालिका–४, का अतिविपन्न आशादेवी साहको परिवारका लागि तीन कोठे घर निर्माण गरेर हस्तान्तरण गरेका थिए । त्यसअघि अघि पनि आचार्यले विभिन्न स्वास्थ्य संस्था, विद्यालय, मदरसा, बिरामीलगायतलाई सहयोग प्रदान गरिसकेका ।