मगर संघले १५ गते हरिवनमा विविध साँस्कृतिक कार्यक्रम गर्ने

3
बैठकमा उपस्थित मगर संघका पदाधिकारीहरु । (तस्बिर : घनश्याम/उज्यालो अभियान)

घनश्याम बलम्पाकी/ईश्वरपुर – नेपाल मगर संघ सर्लाहीले मगर संघ स्थापना दिवसको अवसरमा हरिवनमा बृहद् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

मगर संघ सर्लाहीको शनिबार दिउँसो ईश्वरपुरमा सम्पन्न जिल्ला कायसमितिको बैठकले स्थापना दिवसको अवसरमा यही फागुन १५ गते शनिबारका दिन हरिवनको सुर्तिबिकास मैदानमा मगर समुदायको कला सँस्कृति झल्काउने झाँकी लगायत विविध साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । नेपाल मगर संघ जिल्ला कार्य समिति सर्लाहीका अध्यक्ष तेजनारायण आलेको अध्यक्षतामा बसेको बैठकले फागुन १५ गते हरिवनमा भव्यताका साथ विविध साँस्कृतिक कार्यक्रम गरेर मगर संघ स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

मगर समुदायको भेषभूषा, कला, सँस्कृति भल्काउने झाँकी सहित कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको समेत प्रस्तुती रहने कार्यक्रम संयोजक कामना क्याप्छाकी मगरले जानकारी दिए । कार्यक्रम स्थलमा मगर समुदायको परम्परागत खानेकुराहरुको समेत स्टल राखिने बताईएको छ । जिल्लाभर छरिएर रहेका मगर समुदायलाई एउटै थलोमा भेला गराएर उक्त दिन मगर स्थापना दिवस मनाउन लागिएको अध्यक्ष आलेले जानकारी दिए । हरेक बर्ष फागुन १५ गते मगर संघ स्थापना दिवसको रुपमा मगर समुदायले देशव्यापी रुपमा विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।

कार्यक्रममा चर्चित गायिका प्रिती आले लगायत कलाकारहरु आउने बताईएको छ । त्यस्तै चर्चित डान्सर तेरिया मगरलाई पनि ल्याउनका लागि कुरा भईरहेको कार्यक्रम संयोजक क्याप्छाकीले बताए । अध्यक्ष आलेका अनुसार प्रमुख अतिथिको रुपमा केन्द्रीय स्तरका नेतालाई ल्याउन कुरा भईरहेको छ ।

बैठकमा प्रदेश सांसद बेची लुङ्गेली, नेपाल मगर संघका केन्द्रिय सदस्य लेखराम जर्घा, मगर संघ प्रदेश २ का सचिव ओम राना मगर लगायतको उपस्थिति रहेको जिल्ला कोषाध्यक्ष बिनिता ग्राङ्जा मगरले जानकारी दिइन् ।