सर्लाहीमा प्रम ओली विरुद्ध व्यक्तिगत रुपमा कटाक्ष नगरी प्रचण्ड र नेपालले गरे यस्तो सम्बोधन (फोटो फिचर सहित)

1

हजारबिगाह – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मृत्यु रहस्यमय भएको बताएका छन् ।

आज (विहिबार) वाग्लेको मृत्यु भएको तेह्रौं पुण्यतिथिका अवसरमा सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिगाहमा आयोजित श्रद्धाञ्जली सभामा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै प्रचण्डले वाग्लेको मृत्युले आफूहरुले निकै असहज महसुस गरेको मात्र नभई आवेगमा समेत आएको बताए । ‘क. वाग्लेको मृत्यु रहस्यमय छ, यो मृत्यु सामान्य दुर्घटनाबाट मात्र हैन, ठूलो रहस्य लुकेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘वाग्ले जस्तो क्रान्तिकारी नेताको मृत्युबारे समयमै छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन म सरकार समक्ष जोडदार माग गर्दछु, यति ठूलो दुर्घटनाका विषयमा गैर जिम्मेवार नबन्न समेत सरकारसँग माग गर्दछु ।’ केन्द्रीय सदस्य प्रल्लाद बुढाथोकीको संयोजकत्वमा पार्टीले गठन गरेको आन्तरिक छानविन समितिको प्रारम्भिक प्रतिवेदनले दुर्घटना रहस्यमय देखिएको भन्दै अध्यक्ष प्रचण्डले सत्यतथ्य बाहिर ल्याएर दोषि देखिए कानूनी कार्बाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे ।

प्रतिगमनकारी एवं प्रतिगामी कदम विरुद्धको आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै गर्दा वाग्लेको मृत्यु भएको हुँदा घटना रहस्यमय बनेको अध्यक्ष प्रचण्डको भनाई थियो । ‘व्यक्तिगत कामका क्रममा उहाँ(वाग्ले) को मृत्यु भएको हैन’, अध्यक्ष प्रचण्डले भने, ‘समग्र नेपाली जनताको भविष्य निर्माणको आन्दोलन अर्थात प्रतिगामी कदम विरुद्धको अभियानको नेतृत्व गर्दैगर्दा उहाँको मृत्यु भएको छ, त्यसैले उहाँ महान क्रान्तिकारी योद्धा हुनुहुन्छ, उहाँको व्यवहार, आचरणबाट कम्युनिष्ट कार्यकर्ताले धेरै सिक्न जरुरी छ ।’

त्यस्तै अध्यक्ष प्रचण्डले मिटरब्याज प्रकरणबाट प्रताडित सयौं महिला दिदीबहिनीहरुको मुक्तिका लागि वाग्लेले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै स्मरण गरे । ‘उहाँ मिटरब्याजी, सुदखोरका कारण प्रताडित सयौं महिला दिदीबहिनीहरुलाई लिएर मेरो निवास खुमलटार पटक–पटक आउनु भएको थियो, मैले पनि तुरुन्त तीनवटै सुरक्षा निकायका प्रमुख सम्बान्धित मन्त्री, सचिब लगायतलाई त्यसबारे कार्बाही अभियान अगाडी बढाउन निर्देशन दिएको थिएँ’, प्रचण्डले भने, ‘कार्बाही अभियान अगाडी बढेर धेरै महिला सहित पीडित जनसमुदायले न्याय पनि पाईसक्नु भएको थियो, यसैबीच अभियानका नेतृत्वकर्ता क. वाग्लेको मृत्यु भएको छ ।’

अध्यक्ष प्रचण्डले स्व. वाग्लेका परिवारमा अझ बढी क्रान्तिकारी व्यहार देखेको भन्दै प्रशंसा गरे । ‘आफू मात्र कम्युनिष्ट अनि क्रान्तिकारी नभई स्व. वाग्लेले परिवारलाई नै क्रान्तिको बाटोमा हिडाउनु भएको रहेछ, मैले स्व. वाग्लेको परिवारमा अझ बढी सांस्कृतिक क्रान्तिको झलक पाएँ’, उहाँहरुले रुढिवादी अनि परम्परावादी संस्कार विपरित मृत्यु संस्कारमा नयाँ अनि वैज्ञानिक संस्कारको थालनी गर्नु भएको छ, नयाँ अनि वैज्ञानिक सांस्कृतिक आन्दोलनको अगूवा परिवारको रुपमा उहाँहरुलाई पार्टीले सँधै सम्झिरहने छ ।’

कार्यक्रममा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य महेन्द्र यादवको समेत उपस्थिती रहेको थियो । श्रद्धाञ्जली सभामा यादवले उपस्थिती जनाएर उच्च राजनैतिक संस्कार देखाएको भन्दै नेकपा अध्यक्ष प्रचण्डले उनको प्रशंसा गरे । उनले मधेशवादी दलले उठाएको मुद्धा अनुसार संविधानमा परिमार्जनका लागि आफूले पटक–पटक प्रस्ताव गरेको समेत उल्लेख गरे । ‘नयाँ संविधानबाट जे जति उपलब्धी प्राप्त भएको छ, त्यसलाई संस्थागत गर्दै थप उपलब्धीहरु हाँसिल गर्ने बाटोमा अगाडी बढ्नु जरुरी छ’, अध्यक्ष प्रचण्डले भने, ‘असन्तुष्टि, असहमति अनि गुनासोको उचित सम्बोधन गर्दै संविधानमा परिमार्जन गर्नुपर्छ ।’

अध्यक्ष प्रचण्डले वर्तमान केपी ओली सरकारले प्रतिगामी र निरंकुश कदम चालेकाले त्यसका विरुद्ध देश भित्र र बाहिर रहेका सबै नेपालीहरु जाग्नु पर्ने बताए । फेरि एक पटक नेपाली जनताले राष्ट्रहितका लागि संकल्प गर्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाई थियो । प्रधानमन्त्री केपी ओलीले चालेको प्रतिगामी एवं प्रतिगमनकारी कदमलाई परास्त गर्न संकल्प सहित नेपाली जनता फेरि एकपल्ट एकजुट भएर लड्न पनि अध्यक्ष प्रचण्डले आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेकपाका अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पनि स्व. वाग्ले सच्चा, ईमान्दार, कर्मठ, जुझारु कम्युनिष्ट नेता रहेको र उनको जीवनशैली एवं आचरणको सबै कम्युनिष्ट कार्यकर्ताले अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरे । मिटरब्याजी सुदखोरहरु विरुद्धको अभियानका नेतृत्वकर्ता वाग्लेको निधनले सयौं पीडित महिला तथा दाजुभाईको मुक्ति आन्दोलनमा समेत ठेस लागेको नेता नेपालको भनाई थियो । त्यस्तै नेता नेपालले वर्तमान सरकारले चालेको प्रतिगामी एवं प्रतिगमनकारी कदम विरुद्ध एकजुट भएर अगाडी बढ्न समेत नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा नेकपा प्रवक्ता एवं संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ, जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रामेश्वर राय यादव, स्व. वाग्लेकी पत्नी सरस्वती मिश्र वाग्ले, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतले मन्तव्य राखेका थिए । वाग्ले पत्नी सरस्वतीले शोकलाई शक्तिमा बदल्दै पार्टीमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने घोषणा गरिन् ।

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षता एवं सचिव कमल बुढाथोकीको सञ्चालन रहेको कार्यक्रममा नेकपाका नेताहरु लिलामणि पोखरेल, विश्वनाथ साह, नागेन्द्र चौधरी सहित केन्द्रीय सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, बागमती, लालबन्दी, बरहथवा, हरिपुर नगरपालिकाका मेयर एवं उपमेयरहरु सहित हजारौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । हरिपुर नगरपालिका–१, हजारबिगाह स्थित पाँचकुमारी मावि परिसरमा आयोजित सभामा सूरुमै प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलेका थिए भने लगतै माधवकुमार नेपालले बोलेका थिए । दिउँसो साँढे ४ बजे सिमराबाट काठमाडौं जाने फ्लाईट भएकाले प्रमुख नेताहरुले मात्र बोलेर कार्यक्रम छोटो पारिएको थियो । नेता नेपाल र नारायणकाजी भने पहिला नै गएका थिए भने प्रचण्ड केही समयपछि सम्बाेधन गरेर काठमाडाैं फर्किएका थिए ।

संसद् विघटन प्रकरण पश्चात मुलुकका विभिन्न आमसभा एवं कार्यक्रमहरु प्रधानमन्त्री केपी ओली तथा अर्का अध्यक्ष प्रचण्ड र नेपालले एक अर्का विरुद्ध व्यक्तित लाञ्छना नै लगाउने गरी कटाक्ष गर्ने, विगत कोट्याउँदै संघीन आरोप लगाउने गरेपनि सर्लाहीको आमसभामा भने प्रचण्ड र नेपालले त्यस्तो कुनै कटाक्ष गरेनन् । अधिकांश समय स्व. वाग्लेको योगदान एवं उनको जिवनशैलीको बारेमा बोलेका दुवै नेताले प्रधानमन्त्री ओलीले चालेको कदम प्रतिगामी र निरंकुश भएको भन्दै उक्त कदम विरुद्ध एकजुट भएर लड्न आग्रह मात्र गरे । सायद श्रद्धाञ्जली सभा भएकाले पनि होला नेताज्यूहरुले प्रधानमन्त्री ओलीप्रति कटाक्ष नगरेको ।’ एक कार्यकर्ताले भने ।

श्रद्धाञ्जली सभामा सहभागि हुन रौतहटको चपुरबाट प्रचण्ड र नेपाल बिहान ११ बजे सर्लाही आएका थिए । प्रचण्ड विहिबार बिहानै सिमरा झरेर चपुर आएका थिएभने नेपाल बुधबार नै चपुर आएर बसेका थिए । अन्य नेताहरु पनि चपुरबाट सँगै सर्लाही आएका हुन् । सर्लाही आएका नेताहरु सोझै मूर्तिया स्थित सुमन थापाको घरमा खाना खाएर मूर्तिया चोक स्थित हजारबिगाह मोडमा स्व. वाग्लेको प्रतिमा (शालिक) निर्माणको शिलान्यासमा सहभागि भएका थिए । लगतै स्व. वाग्लेको घरमा पुगेर परिवारका सदस्यसँग भेटघाट एवं केहीबेर छलफल पश्चात अध्यक्ष प्रचण्ड, नेपाल लगायत नेताहरु पैदलै सभास्थलमा आएका थिए ।

श्रद्धाञ्जली सभा एवं स्व. वाग्लेको योगदानको कदर गर्दै जिल्ला स्थित हरिपुर, बरहथवा र बागमती नगरपालिकाले विहिबार सार्बजनिक बिदा नै दिएका थिए । स्व. वाग्लेको योगदानको कदर गर्दै तथा श्रद्धाञ्जली सभामा सरिक हुन पूर्व प्रधानमन्त्री समेत रहेका मुलुककै दुईजना विशिष्ट राजनैतिक व्यक्तित्वहरु समेत आउने भएकाले सार्बजनिक बिदा दिईएको पालिका प्रमुखहरुले बताएका छन् ।

नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत बरहथवा नगरपालिका–९, मूर्तिया जंगलमा माघ २१ गते राती ९ बजे लडिरहेको अवस्थामा वाग्ले फेला परेका थिए । स्थानीयबाट खबर पाएलगतै आएको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । प्रहरीले दुर्घटनामै वाग्लेको मृत्यु भएको बताएपनि के कसरी दुर्घटना हुन पुग्यो भन्ने एकिन कारण पत्ता लगाउन सकेको छैन् । यता नेकपा नेताहरुले भने वाग्लेको मृत्यु रहस्यमय भन्दै निश्पक्ष छानविन गर्न माग गर्दै आएका छन् । नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले त घटनाको भोलिपल्टै विज्ञप्ति नै निकालेर मृत्यु रहस्यमय रहेकाले निश्पक्ष छानविन गर्न र दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

को हुन् वाग्ले ?

५२ वर्षीय वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिएका थिए । उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएको थिए । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका थिए ।

वाग्लेका श्रीमती र दुई छोरा छन् । सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा थिए भने अर्का छोरा नेपालमै छन् । वाग्लेको मृत्यु भएपश्चात जेठा छोरा पनि घर आईसकेका छन् ।