जियाजाेरमा ४७ विपन्न विद्यार्थीलाई नगद र शैक्षिक सामग्री प्रदान

5

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालयका ४७ जना अति विपन्न विद्यार्थीलाई सहयोग प्राप्त भएको छ ।

अभिभावकको आर्थिक अवस्था अत्यन्त न्यून रहेका ती विद्यार्थीलाई बुधबार विद्यालयमै एक कार्यक्रमका बीच लालबन्दी–८, मा रहेको ट्रान्सफर्म नेपालले एमिटी टर्च परियोजना अन्तर्गत सहयोग प्रदान गरेको हो । सो संस्थाले चिनीयाँ एक संस्थासँग समन्वय गरेर ४७ जना विद्यार्थीलाई जनही २ हजार ५ सय रुपैयाँ नगद र शैक्षिक सामग्री प्रदान गरेको विद्यालयका प्रधानाध्यापक ऋषिप्रसाद सुवेदीले जानकारी दिए ।

सहयोगी संस्थाका अध्यक्ष दीपेन्द्र बलम्पाकीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा नं. १२ का वडाध्यक्ष दुर्गा बहादुर आले मगर, विद्यालयका जग्गादाता उमेश ठोकर, व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछान लगायतको उपस्थिति थियो । ट्रान्सफर्म नेपालले यो प्रकारको सहयोग नगरभित्रका २८ विद्यालयका अति नै विपन्न विद्यार्थीलाई गरिने र यसलाई बर्सेनि निरन्तरता दिने योजना रहेको जनाएको छ ।

फाेटाे क्याप्सन : एक विद्यार्थीलाई नगद र शैक्षिक सामग्री प्रदान गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गुर्मछान । (तस्बिर : सामाजिक संजाल)