आज सर्लाहीमा प्रचण्ड र नेपाल यसरी व्यस्त हुँदैछन्

14
प्रचण्ड र नेपाल
स्व. डाचाराज वाग्ले ।

हरिवन – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य स्व. डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सम्बोधन गर्न नेकपा प्रचण्ड समूहका केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सोही समूहका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल आज सर्लाही आउँदैछन् ।

आज (विहिबार) दिउँसो हरिपुर नगरपालिका–१ हजारबिगाह स्थित विद्यालयमा स्व. वाग्लेको तेह्रौं पुण्यतिथिका अवसरमा आयोजित श्रृद्धाञ्जली सभालाई प्रमुख वक्ताको रुपमा दुई नेताले सम्बोधन गर्ने नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले जानकारी दिए । पूर्व प्रधानमन्त्री नेपाल हिजै रौतहट आईसकेका थिए । अध्यक्ष प्रचण्ड भने आज बिहान ८ बजे जहाजबाट सिमारा ओर्लिएका थिए । सिमरामा ओर्लिएका प्रचण्ड यो समाचार तयार पार्दासम्म रौतहतको चपुरमा आर्यसकेका छन् । चपुरमा कार्यकर्ताहरुसँग संक्षिप्त भेटघाट गर्ने र बिहान ११ देखि साँढे ११ बजे भित्र दुवै अध्यक्षहरु सर्लाही आईसक्ने अध्यक्ष पन्तले जानकारी दिए ।

पन्तका अनुसार अध्यक्षद्वय सिधै मूर्तिया चोक जानेछन् । त्यहाँ स्व. वाग्लेको शालिक (प्रतिमा) निर्माणका लागि दुवै अध्यक्षहरुले संयुक्त रुपमा शिलान्यास गर्नेछन् । शिलान्यास पश्चात स्थानीय सुमन थापाको घरमा खाना खाने कार्यक्रम रहेको पन्तले जानकारी दिए । अध्यक्षद्वय सहित अन्य पार्टी नेताहरुले सँगै खाना खाने कार्यक्रम रहेको बताईएको छ ।

खाना खाईसकेपछि नेताहरु स्व. वाग्लेको घरमा पुगेर परिवारका सदस्यहरुमा समवेदना प्रकट गर्ने र केहीबेर छलफल समेत गर्नेछन् । त्यसपछि पैदलै हिँडेर नजिकै रहेको श्रद्धाञ्जली सभा स्थलमा जाने कार्यक्रम रहेको बताईएको छ । श्रद्धाञ्जली सभा स्व. वाग्लेको घर नजिकै रहेको विद्यालय परिसरमा हुदैछ । विहिबार दिउँसो साँढे ४ बजे दुवै अध्यक्ष सिमरा हुँदै जहाजबाट काठमाडौं जाने कार्यक्रम रहेकाले सोही अनुसार समयमै कार्यक्रम सम्पन्न गरिने अध्यक्ष पन्तले जानकारी दिए । अध्यक्ष पन्तका अनुसार सभामा २० हजार हाराहारीको उपस्थिती रहने छ ।

श्रद्धाञ्जली सभा एवं स्व. वाग्लेको योगदानको कदर गर्दै जिल्ला स्थित हरिपुर, बरहथवा र बागमती नगरपालिकाले विहिबार सार्बजनिक बिदा नै दिएका छन् । स्व. वाग्लेको योगदानको कदर गर्दै तथा श्रद्धाञ्जली सभामा सरिक हुन पूर्व प्रधानमन्त्री समेत रहेका मुलुककै दुईजना विशिष्ट राजनैतिक व्यक्तित्वहरु समेत आउने भएकाले सार्बजनिक बिदा दिईएको पालिका प्रमुखहरुले बताएका छन् ।

प्रहरीले दुर्घटनामै वाग्लेको मृत्यु भएको बताएपनि के कसरी दुर्घटना हुन पुग्यो भन्ने एकिन कारण पत्ता लगाउन सकेको छैन् । यता नेकपा नेताहरुले भने वाग्लेको मृत्यु रहस्यमय भन्दै निश्पक्ष छानविन गर्न माग गर्दै आएका छन् । नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले त घटनाको भोलिपल्टै विज्ञप्ति नै निकालेर मृत्यु रहस्यमय रहेकाले निश्पक्ष छानविन गर्न र दोषिलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेका थिए ।

५२ वर्षीय वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिएका थिए । उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएको थिए । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका थिए ।

वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा थिए भने अर्का छोरा नेपालमै छन् । वाग्लेको मृत्यु भएपश्चात जेठा छोरा पनि घर आईसकेका छन् ।