सरस्वती पूजामा कतै विद्यालय त कतै मन्दिर उद्घाटन

9

लालबन्दी – श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर मंगलबार दिनभर सर्लाहीका शिक्षालयहरुमा शिक्षक, विद्यार्थी एवं भक्तजनहरुले पूजाआजा र साँस्कृतिक कार्यक्रम सहित रमाईलो गरेका छन् । कतिपय स्थानमा भने सरस्वती पूजाकै अवसर पारेर विद्यालय भवन र सरस्वती मन्दिरको शिलान्यास एवं उद्घाटन समेत गरिएको छ ।  

यसैक्रममा जिल्लाको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा श्री नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा पूर्व विद्यार्थीहरुले निर्माण गरेका सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । गाउँलेहरुको भव्य उपस्थितिमा कलश यात्रासहित गाउँ परिक्रमा गरी मन्दिरको उद्घाटन गरिएको निर्माण समितिका अध्यक्ष यमकुमार कार्की (राजु) ले जानकारी दिए । भूतपूर्व विद्यार्थीहरुले झण्डै १० लाख रुपैयाँ लागतमा मूर्ति सहितको सरस्वती मन्दिर निर्माण गरेका हुन् । कालिन्जोरका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनको प्रमख आतिथ्यतामा मन्दिरको उद्घाटन गरिएको निर्माण समितिका अध्यक्ष कार्कीले बताए ।

त्यस्तै, श्रीपञ्चमीकै अवसर पारेर लालबन्दी नगरपालिका–१२, जियाजोरमा नारायण जनता माध्यमिक विद्यालयमा नवनिर्मित ४ कोठे भवनको मंगलबार उद्घाटन गरिएको छ । संघीय सरकारको ३६ लाख रुपैंया अनुदानमा निर्मित भवन र त्यही भवनको एउटा कोठामा नगरपालिकाको सहयोगमा स्थापना गरिएको विज्ञान प्रयोगशालाको नगर प्रमुख मानबहादुर खड्काले उद्घाटन गरेका छन् । शिक्षक टीकाराम श्रेष्ठको सञ्चालन, प्रधानाध्यापक ऋषिप्रसाद सुवेदीको स्वागत र व्यवस्थापन समितिका अध्यक्ष नारायण गुर्मछानको अध्यक्षता रहेको कार्यक्रममा वडाध्यक्ष दुर्गाबहादुर आले लगायतको आतिथ्यता थियो ।

त्यसैगरी, लालबन्दी नगरपालिका–६, स्थित प्रेमज्योति आधारभूत विद्यालयमा संघीय सरकारको ३६ लाख रुपैंया अनुदानमा निर्माण हुने ४ कोठे भवनको समेत नगर प्रमुख खड्काले शिलान्यास गरेका छन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्य सहित स्थानीय सरोकारवालाहरुको उपस्थिती रहेको थियो । त्यस्तै जिल्लाको दक्षिणी क्षेत्र ब्रम्हपुरी गाउँपालिकामा पनि एक विद्यालयको नवनिर्मित भवनको उद्घाट गरिएको छ । गाउँपालिका अध्यक्ष विनोदकुमार साहले उत्पीडित उत्थान प्राथमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

त्यस्तै मंगलबारबाटै लालबन्दी–७, स्थित राधाकृष्ण मन्दिर परिसर डुमडुमेमा सँस्कृत पढाई समेत सुरु भएको छ । नगर प्रमुख खड्काबाट उद्घाटन गरी श्री राधाकृष्ण संस्कृत वैद्धिक गुरुकुलुम् सूरुवात गरिएको पण्डित नारायणशरण काफ्लेले जानकारी दिए ।

सरस्वतीको पूजाआराधना गर्न सर्लाहीका विभिन्न मन्दिर, सरस्वतीको मुर्ति राखिएको स्थान र विद्यालयहरुमा मंगलबार दिनभर भीड देखिन्थ्यो । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कूची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु सुरु हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । श्रीपञ्चमीका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । श्रीपञ्चमीका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्ध जस्ता कर्म यस पर्वमा गरिँदैन । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सर्लाहीमा पनि सयौं अभिभावकले आफ्ना सन्ततीलाई आजैबाट औपचारिक अध्ययनका लागि शिक्षालय पठाउन सूरु गरेका छन् ।

फोटो क्याप्सन : कालिञ्जोरमा मंगलबार उद्घाटन गरिएको सरस्वती मन्दिर परिसरमा उपस्थित भक्तजनहरु । (तस्बिर : सामाजिक संजाल)