चज क्याम्पसका पदाधिकारीले गरे सपथ र पदस्थापन

पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम पश्चात मेयर प्रसाईं, उपमेयर पौडेलसँग सामुहिक तस्बिरमा क्याम्पसका पदाधिकारीहरु । (तस्बिर : सामाजिक संजाल)

हरिवन – हरिवन नगरपालिका अन्तर्गत सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सञ्चालक समिति सहित विभिन्न समितिमा नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार दिउँसो निर्वाचन समितिका संयोजक एवं हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण एवं पदस्थापन गराएका हुन् । क्याम्पसकै सभाहलमा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको क्याम्पस प्रमुख हरिलाल मैनालीले जानकारी दिए । कार्यक्रममा निर्वाचन समितिका सदस्य एवं नेपाली कांग्रेस हरिवनका सभापति रामशरण उप्रेती, निर्वाचन समितिका सदस्य राजकुमार उप्रेती, शिक्षासेवीहरु यमिनिकुमार दिप, यमनाथ उप्रेती लगायतको उपस्थिती रहेको थियो ।

गत माघ १६ गते आयोजित क्याम्पसको नवौं अधिवेशनले सर्बसम्मत रुपमा सञ्चालक समिति लगायतमा पदाधिकारीहरु चयन गर्नका लागि गठित निर्वाचन समितिको सर्वसम्मत निर्णय अनुसार केही दिनअघि क्याम्पस सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अनुगमन समितिमा पदाधिकारी चयन गरिएको थियो । निर्वाचन समितिको निर्णय अनुसार संचालक समितिको अध्यक्षमा पुनः बासुदेव निरौलालाई चयन गरिएको थियो भने उपाध्यक्षमा वडा नं. ९ का वडाध्यक्ष सीताराम पोखरेल, कोषाध्यक्षमा विदुर प्याकुरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णबहादुर केसी, सिता देवी थापा, डाकुरनाथ खतिवडा, वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, टेकबहादुर बोगटी, रामप्रसाद घिमिरे र सोनी कुमारी बम्जन रहेका छन् । संचालक समितिको सचिबमा भने स्वतः क्याम्पस प्रमुख मैनाली हुनेछन् । त्यस्तै निर्वाचन समितिले लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपेन्द्रप्रसाद मैनाली एवं अनुगमन समितिको संयोजकमा कांग्रेस नेता डोरप्रसाद भट्टराईलाई चयन गरेको थियो ।

१९ सदस्यीय संचालक समितिमा १० जना निर्वाचनबाट तथा ७ जना सदस्य पदेन र २ जना संचालक समितिले मनोनयन गर्ने व्यवस्था रहेको क्याम्पस प्रमुख मैनालीले जानकारी दिए । नवौं अधिवेशनले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको संयोजकत्वमा राजकुमार उप्रेती र रामशरण उप्रेती रहेको निर्वाचन समिति गठन गरेको थियो । उक्त निर्वाचन समितिले सर्बसम्मत रुपमा १० सदस्यीय संचालक समिति चयन गरेको हो ।

नव निर्वाचित पदाधिकारीहरुको पदावधी ३ वर्षको हुनेछ । अब संचालक समितिले ३ जना सदस्य मनोनयन गर्ने क्याम्पस प्रमुख मैनालीले जानकारी दिए । क्याम्पस सभा सदस्यहरु मध्येबाट शिक्षा र उद्योग क्षेत्रका क्रियाशिल व्यक्तित्व एवं निवर्तमान अध्यक्ष पुनः अर्को कार्यकालका लागि पनि चयन भएकाले उक्त स्थानमा समेत गरी तीन जना सदस्य मनोनयन हुनेछन् ।

७ जना पदेनहरुमा भने सदस्य सचिवको रुपमा क्याम्पस प्रमुख तथा सदस्यहरुमा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, वडा नं. १० का वडाध्यक्ष, क्याम्पसका प्रध्यापक संघका सभापति, क्याम्पस कर्मचारी युनियनका सभापति, स्ववियु सभापति र संचालक समितिका निवर्तमान अध्यक्ष रहने व्यवस्था रहेको छ ।