हिंसा र विपती भोगेकाहरुको जीवन फेरिँदै

5
भक्तमाया सार्कीको चिया पसल ।

जनार्जन खत्री – लालबन्दी नगरपालिका ५ की भक्तमाया सार्कीले २०५० सालमा बाढीको महाविपती भोगेपछि आफ्नो जिन्दगीमा फेरि खुशी फर्किएला भनेर सोचेकै थिईनन् । त्यसबेला बागमती खोलामा आएको बाढीले भएको जायोजेथा बगाएपछि उनको बिल्लीबाठ हुन पुग्यो । ३१ वर्षअघि नै श्रीमान गुमाएकी उनी त्यो विपती सम्झिँदा अहिले पाि भावुक बन्छिन् । आफ्ना दुई छोरा भएपनि कुनै हेरचाह नभएपछि मलंगवामा बाढीको बितण्डा भोगेर लालबन्दीमा बसाई सरेर आएकी भक्तमायाको दिनचर्या अहिले बद्लिएको छ ।

उनको मुहारमा लामो समयपछि खुशी फर्काउन सफल भएको छ तयार नेपाल नामक संस्थाको आर्थिक पुनरुत्थान कार्यक्रम । संस्थाले उनलाई चिया पसल सञ्चालन गर्न ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । त्यसबाट चार पांग्रे ठेला किनेर चिया पसल सूरु गरेकी उनले अहिले दैनिक ५ देखि ६ सय आम्दानी गरिरहेकी छिन् । ‘तयार नेपालले कोरोना संक्रमणको महामारीकै समयमा गरेको आर्थिक सहयोग मेरा लागि भगवान नै भेटिए झैँ भएको छ, सार्कीले भनिन्, यसैबाट जीवन जिउने आधार मिलेको छ, अत्यन्त खुशी छु ।’


विपतीको कहर र आफ्नै सन्तानको साथ नपाएर एक्लो भएकी भक्तमायाले अहिले चिया पिउने थुप्रै नियमित ग्राहक बनाईसकेकी छिन् । एकल महिला उनले लालबन्दीस्थित दुर्गा मन्दिर नजिक गरिरहेको व्यवसाय धेरैका लागि प्रेरणाको स्रोत बनेको छ । उनी एक्लैले गरेको व्यवसायबाट व्यवहार मात्रै चलेको छैन् । पुराना विपती र सन्तानबाट भएको अपहेलना भुलाउन पनि मद्धत पुगेको छ ।

यस्तै, लालबन्दी नगरपालिका १ नवलपुरकी मुस्लिम महिला मुनियाँ खातुनमाथिको हिंसा र कोरोना संक्रमणको समयमा उनले भोग्नु परेको पीडा पनि दर्दनाक नै छ । अहिले ३५ वर्ष पुगेकी उनी पहिलो विवाह गर्दा उनको श्रीमानले दोस्रो विवाह थियो । यो कुरा उनलाई विवाहपछि मात्रै थाहा भयो । मुस्लिम समुदायकी उनीसँग श्रीमानले झुक्याएर भागी विवाह गरेका हुन् । आफ्नो जात भन्दा कथित तल्लो जातीसँग विवाह गरेको भन्दै उनलाई घर परिवार र समाजले स्वीकार गरेन ।

त्यसपछि खातुनमाथि हिंसा हुन थाल्यो । उनी पीडित बन्न थालिन । श्रीमान र समाजबाट अपहेलित भएपछि उनले पुनः जिन्दगी सहज बन्ने र परिवार तथा श्रीमान दुवैले स्वीकार गर्ने आशसहित दोस्रो विवाह गरिन् । तर यो पटक पनि उनीमाथि धोका हुन पुग्यो । दोस्रो पटक उनले विवाह गरेको श्रीमानको श्रीमती छँदै थिईन् भने दुईवटा छोराछोरी पनि थिए । यो परिवारमा पनि असाध्य पीडा भएपछि उनले दोस्रो श्रीमान र परिवार समेत त्यागिन । अदालतबाट डिभोर्स नै गरिन् ।

यसपछि उनी अब आफ्नो खुट्टामा आफै उभिने अर्थात् स्वालम्वी पर्ने प्रयत्नमा लागिन् । उनले साथीसँग २ हजार रुपैयाँ सापटी लिएर सानो फलफूल पसल सुरु गरिन् । यसबाट उनलाई पेट पाल्न समस्या पर्न छाड्यो । पसल चल्दै गयो । कोठा भाडा, कपडा लगायत सरसामग्रीको खर्च पनि टार्न थालिन् ।

विस्तारै पुराना पीडा विर्सदै गएकी खातुनलाई कोरोना भाईरसको महामारीले उही अवस्थामा फकाईदियो । लकडाउन भएपछि उनले पसल चलाउन पाइनन् । फलफूल बेचेर कमाएको केही पैसा लकडाउन सूरु भएको केही दिनमै खानामा सकियो । फेरि पहिले झैँ के खाने ? के लगाउने ? भन्ने पर्यो ।

यही अप्ठेरो अवस्थामा उनका लागि पनि तयार नेपाल नामक संस्थाको सहयोग मिल्यो । यूएसएआइएडीको सहयोगमा सो संस्थाले उनलाई लकडाउन पश्चात ३२ हजार रुपैयाँ दियो र उनले त्यसैबाट तरकारी खेती सूरु गरिन् । अहिले यसैले दैनिकी धानेको छ । ‘तरकारी बेचेर दैनिक हजारको हाराहारीमा कमाई हुन्छ, तयार नेपालले सहयोग नगरेको भएपनि यस्तो विपतीको समयमा मलाई आर्थिक सहयोग गर्ने कोही थिएनन्, खातुनले भनिन्, संस्थाले मलाई जीवन जिउन योगदान गरेको छ । संस्थाप्रति धेरै आभारी छु ।’

यसैगरी, श्रीमानले दोस्रो विवाह गरेपछि तरकारी बेचेर तीन सन्तानको पालन पोषण गर्दै आएकी लालबन्दी नगरपालिका ५ की रामकुमारी साह पनि कोरोना महामारीको बेला समस्यामा थिईन् । उनलाई कतैबाट सहयोग नमिले पनि लकडाउन खुलेपछि फेरि आफै तरकारी बेचेर जीवन निर्वाह गर्न थालेकी छन् । ‘मलाई विभिन्न बहाना बनाएर श्रीमानले नागरिकता नै दिएनन्, वडाध्यक्ष र महिला अधिकारकर्मीहरुको पहलमा विवाह गरेको १६ वर्षपछि बल्ल नागरिकता पाएको छु, साहले भनिन्, श्रीमानबाट अनेक लान्छना लगाउने र दुव्र्यवहार भएपनि अहिले तीन सन्तानलाई तरकारी बेचेर पालिरहेको छु ।

तयार नेपाल नामक संस्थाका प्रतिनिधी निराजन चौधरीले लालबन्दीमा ५ महिना बसेर परियोजना सञ्चालन गर्दा भक्तमाया सार्की, मुनियाँ खातुन जस्ता हिंसा पीडित तथा कोरोना संक्रमण महामारीले गर्दा दैनिकी गुजार्न समस्या परेकालाई सहयोग गरिएको जानकारी दिए । ‘उनीहरुजस्तो समस्यामा परेकालाई व्यापार व्यवसाय गर्न आर्थिक सहयोग गर्यौ, सहयोग पाएपछि अहिले उनीहरुको दैनिकी फेरिएको छ ।’ संस्थाले लालबन्दी नगरपालिकासँग समन्वय गरी विभिन्न १० किसिमका कार्यक्रम सञ्चालन गरेको चौधरीले बताए ।

लालबन्दी नगरपालिका ५ का वडाध्यक्ष मोहनहरि भण्डारीले घरेलु हिंसा पीडित महिला र विपतीमा परेकाहरुलाई यस किसिमको सहयोगी कार्यक्रमले ठूलो राहत मिलेको बताए । ‘हिंसा पीडितलाई चेतनाको कमी, सम्वन्धित निकायसम्म पहुँच नहुनु, परिवारको असहयोग जस्ता कारणले न्याय दिलाउनै गाह्रो छ, भण्डारीले रामकुमारीलाई १६ वर्षपछि नागरिकता दिलाएको स्मरण गर्दै भने, दोस्रो विवाह गरेर अन्यत्र बस्ने श्रीमानलाई बल्लतल्ल झिकाएर नागरिकता दिलायाँै ।’ भण्डारीले कोरोना संक्रमणका बेला अझ बढी घरेलु हिंसाका घटना भएका बताउँदै अझै पनि लैंगिक समानतका लागि अभियान चलायन आवश्य रहेकोमा जोड दिएका छन् ।

लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का महिला आफै व्यवसायमा लागेर आर्थिक रुपमा सक्षम भएको परिवारमा लैंगिक हिंसा कम भएको बताउँछन् । कोरोनाको महामारीका बेला भएका लैंगिक तथा घरेलु हिंसाबारे नगरपालिकाको न्यायीक समितिका उजुरी आएका छन्, तीनको अहिले पनि समाधान गर्ने प्रयास भइरहेका छन्, नगर प्रमुख खड्काले भने केही हिंसा पीडित महिलालाई कोरोनाकै महामारीका बेला तयार नेपाल नामक संस्थाको साझेदारीमा सहयोग गरेका छौँ ।’ उनले यस्ता सहयोगपछि उनीहरुले व्यापार व्यवसाय गरेर आर्थिक उपार्जन गर्न थालेपछि हिंसा न्यूनिकरणमा टेवा पुग्नुका साथै लंैगिक समानतामा सघाउ पुग्ने बताए ।