किसान ‘ठग्ने’ अग्रवाल सर्लाहीबाट छुट्दै, नवलपरासी प्रहरीको जिम्मा लगाईने

2
केही वर्षअघि सरकारले पक्राउ गरेपछि बिरामी भन्दै नर्भिक अस्पतालको बेडमा उपचाररत अवस्थामा अन्न्पूर्णका मालिक राकेश अग्रवाल (बीचमा) ।
पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्षौंदेखि करोडौं रकम भुक्तानी नगरेर उखु किसानलाई ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी राकेश अग्रवालले सर्लाहीका उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेका छन् ।

आज (बुधबार) सम्म अग्रवालले उखु किसानको खातामा १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खातामा भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । ‘उद्योग मन्त्रालयबाट गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्र अनुसार अग्रवालले सर्लाहीका उखु किसानलाई १७ करोड सात लाख रुपैंया तिनुपर्ने थियो, जसमध्ये हाम्रो हिरासतमा आउनु अघि नै उनले किसानलाई १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैंया दिईसकेका थिए’, प्रहरी उपरीक्षक राठौरले बुधबार दिउँसो उज्यालो अभियानसँग भने, ‘हाम्रो हिरासतमा आएपछि उनले आफ्नो बैंक खातामा ८ करोड ८० लाख ५५ हजार ५६१ रुपैंया जम्मा गरेको र सोही खाताबाट हिजो (मंगलबार) २ करोड १० लाख ६३ हजार ८१५ रुपैंया तथा आज (बुधबार) २ करोड ३२ लाख ८० हजार ७१ रुपैंया बाँकी वक्यौता रहेका किसानको खातामा जम्मा भईसकेको छ, हालसम्म संकलन भएको तथ्यांकका आधारमा सर्लाहीका किसानको भुक्तानी सकिएको देखिएको छ ।’

अझैपनि सर्लाहीका कोही किसानको उखुको रकम बाँकी हुनसक्ने भन्दै सरकारले रोक्का राखेको अग्रवालको बैंक खातामा ४ करोड ३७ लाख ११ हजार ६६७ रुपैंया बाँकी राखिएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । ‘अझैपनि सर्लाहीका किसानहरुको भुक्तानी लिन बाँकी हुन सक्ला कि भनेर सरकारले रोक्का राखेको अग्रवालको खातामा रकम स्टक राखिराखेका छौं’, उनले भने, ‘यदि कोही किसान प्रमाण सहित भुक्तानी बाँकी रहेको दाबी गर्न आएको खण्डमा अग्रवालको सोही खाताबाट किसानको बाँकी भुक्तानी गराईदिने छौं ।’ सरकारले केही महिना अघि नै अग्रवालको नाममा रहेको बैंक खाताहरु रोक्का राखेको थियो । अग्रवालले रकम जम्मा गर्न मिल्ने र निकाल्न नमिल्ने तथा किसानको खातामा भने भुक्तानी पठाउन सकिने गरी सरकारले उक्त खाता रोक्का राखेको छ ।

हालसम्म जानकारीमा आएको तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको र थप कोही आए भनेपनि बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याउनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । ‘सायद आज साँझसम्म अगवाल विरुद्ध अदालतमा चलिरहेको सर्लाहीको केस टुंगिन्छ होला’, बुधबार दिउँसो प्रउ राठौरले उज्यालो अभियानसँग भने ।

सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) अग्रवाललाई माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका अग्रवाललाई आवश्यक कार्बाहीका लागि माघ १५ गते साँझ सर्लाही ल्याईएको थियो । अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले पठाएको हो ।

अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा सर्लाही प्रहरीले जिल्ला अदालतमा मुद्धा चलाएको थियो । अन्नपूर्णले करोडौं रकम वषौंदेखि भुक्तानी नदिँदा दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौं उखु किसान मारमा परेका थिए । वर्षौंदेखिको करोडौं रकम भुक्तानी नगरेपछि दुईवर्ष यता किसानले उखु नदिएपछि अग्रवालको अन्नपूर्ण सुगर मिल बन्द छ ।

सर्लाहीबाट छुट्ने वितिकै अग्रवाललाई नवलपरासी पठाईँदै

यसैबीच सर्लाही प्रहरीको हिरासतमा रहेका राकेश अग्रवाललाई पुनः अर्को ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाउन पश्चिम नवलपरासी प्रहरीको जिम्मा लगाईने छ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयको पत्राचारको आधारमा जिल्ला अदालत सर्लाहीबाट छुट्ने वितिकै अग्रवाललाई पुनः हिरासतमा लिएर सर्लाही प्रहरीले उतै पठाउने भएको हो । ‘पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गत ईलाका प्रहरी कार्यालय बेलटाँडीको पत्रका आधारमा अग्रवाललाई नवलपरासी प्रहरीको जिम्मा लगाउन लैजान्छौं’, प्रउ राठौरले उज्यालो अभियानलाई प्रश्ट्याए, ‘नवलपरासीको इन्दिरा सुगर एण्ड एग्रो प्रा.लि. गंगापुरले पनि स्थानीय उखु किसानको रकम भुक्तानी गर्न बाँकी रहेकाले नवलपरासी प्रहरीको जिम्मामा पठाउन लागेका हौं ।’

प्रउ राठौरका अनुसार अग्रवालकै स्वामित्वमा रहेको उक्त उद्योगले समेत वर्षौंदेखि नवलपरासी क्षेत्रका किसानको ४ करोड ७० लाख रुपैंया तिर्न बाँकी छ । त्यहाँका किसानले दिएको लिखित उजुरीका आधारमा नवलपरासी प्रहरीले पनि अग्रवाल विरुद्ध ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाउने भएको हो ।