प्रचण्ड-नेपाल समूहकाे आमसभामा सर्लाहीबाट ५ हजार जाने दाबी

13

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकाे बुधबार काठमाडाैंमा हुने आमसभामा सर्लाहीबाट ५ हजार जना जाने दाबी गरिएकाे छ ।

नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले बुधबार काठमाडाैंमा हुने आमसभामा सहभागि हुन सर्लाहीबाट ५ हजार हाराहारी नेता कार्यकर्ता आज (मंगलबार) साँझ विभिन्न सबारीसाधनमा जाने दाबी गरे । पन्तका अनुसार ९० वटा बस, २२ वटा विंगर, ४० वटा टाटासुमाे र स्कर्पीओ र २०० वटा माेटरसाईकलमा नेता कार्यकर्ता काठमाडाैं जानेछन् । जिल्ला स्थित सबै पालिकामा नेता कार्यकर्ता एवं शुभेच्छुक, उद्याेगि व्यापारीबाट प्राप्त २०० देखि ५ हजार रुपैंयासम्म सहयाेगबाट काठमाडाैं जाने यातायात र काठमाडाैंमा खान एवं बस्न व्यबस्था गरिएकाे अध्यक्ष पन्तले जानकारी दिए ।

सर्लाही जिल्लाबाट काठमाडाैं जानेहरुलाई खाने र बस्ने व्यबस्था भने मध्यबानेश्वर स्थित कृष्णभाेग पार्टी प्यालेस र अनमाेल पार्टी प्यालेसमा गरिएकाे छ । बुधबार बिहान चिया र खाना खाएपछि आमसभामा सहभागी हुने सबै नेता कार्यकर्तालाई राती पनि खाना खुवाएर गएकै सबारी साधनमा सर्लाहीतर्फ फर्काईने छ ।

काठमाडाैंमा खाने र बस्ने व्यबस्थापनका लागि नेकपा सर्लाही-काठमाडाैं सम्पर्क मञ्चका अध्यक्ष सन्ताेष दाहाल लगायत खटिएका छन् । सम्पर्क मञ्चका अध्यक्ष दाहालले ४ हजार हारहारीका लागि खाना अर्डर गरिसकिएकाे र थपघट भए साेही अनुसार तयारी गरिने जानकारी दिए । अहिले दिउँसाेबाट हरेक पालिकामा कार्यकर्ता ओसार्ने बस लगायत सबारीसाधन तयारी गर्न सुरु भईसकेकाे अध्यक्ष पन्तले बताए ।

याे पनि पढ्नाेस्

ओली समूहको आमसभाका लागि सर्लाहीबाट काठमाडौं गए तीनहजार