उखु किसान ‘ठग्ने’ अग्रवालको अनुसन्धानमा सर्लाही अदालतले दियो ७ दिने म्याद

केही वर्षअघि सरकारले पक्राउ गरेपछि बिरामी भन्दै नर्भिक अस्पतालको बेडमा उपचाररत अवस्थामा अन्न्पूर्णका मालिक राकेश अग्रवाल (बीचमा) ।
पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्षौंदेखिको उखु किसानको करोडौं रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) राकेश अग्रवाललाई ठगी लगायत मुद्धामा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय मलंगवालाई जिल्ला अदालत सर्लाहीले पुनः सात दिनको म्याद दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले सोमबार तेस्रो पटक थप सात दिनको म्याद दिएको हो । यसअघि काठमाडौंबाट पक्राउ परी सर्लाही ल्याईएका अग्रवाललाई जिल्ला अदालत सर्लाहीले पहिलो पटक पाँच र दोस्रो पटक सात दिन म्याद दिएको थियो । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले अग्रवाल विरुद्धको मुद्धामा अनुसन्धान गर्नका लागि जिल्ला अदालतबाट सोमबार थप सात दिनको म्याद पाएको जानकारी दिए ।

यो पनि पढ्नोस्

अन्नपूर्ण चिनी उद्योगका मालिक अग्रवाललाई सर्लाही ल्याईयो, ठगीमा मुद्धा चलाईने

उखुको पैसा नपाउँदा सिभिल ईन्जिनियरिङको सर्टिफिकेट निकाल्न पाएनन् धरेन्द्रले

अन्नपूर्णका चिनी उद्योगका मालिक फेरि फरार !

माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कार्बाहीका लागि माघ १५ गते साँझ सर्लाही ल्याईएको थियो । अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले पठाएको हो ।

अग्रवाल विरुद्ध सर्लाहीका ३१ जना किसानले वर्षौंदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा अहिलेसम्म ३६ जना किसानले लिखित उजुरी दिएको र जिल्ला प्रशासन कार्यालयमा परेको किसानको उजुरीको ठेली समेत आएको प्रउ राठौरले बताए । यसैबीच अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा परेका ५४३ थान निवेदन सहित आवश्यक कार्बाहीका लागि गत माघ १९ गते मंगलबार प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको छ ।

अग्रवाल विरुद्ध अझै सयौं किसानले उजुरी दिने सम्भावना रहेको सर्लाही प्रहरी प्रशासनका अधिकारीको अनुमान छ । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो । जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौं उखु किसानको वर्षौंदेखिको भुक्तानी बाँकी राखेको छ । उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार त्यति देखिएपनि किसानहरुले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।