ईन्दुशंकरद्वारा माघ १५ गतेसम्मको भुक्तानी तालिका सार्वजनिक

7
ईन्दुशंकर चिनी उद्योगको यार्डमा किसानले ल्याएको उखु बोकेका टायरगाडाको लाम । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा सञ्चालित ईन्दुशंकर चिनी उद्योगले सोमबार किसानको उखु खरिद गरेबापतको नयाँ भुक्तानी तालिका सार्वजनिक गरेको छ ।

उद्योगले सोमबार नयाँ भुक्तानी तालिका सार्वजनिक गर्दै माघ १५ गते सम्म खरिद गरिएको उखुको रकम किसानको खातामा जाने व्यवस्था मिलाएको हो । पछिल्लो तालिका अनुसार १४ करोड बराबरको किसानलाई भुक्तानी हुने उद्योगले जनाएको छ । गत पुष ६ गतेबाट सञ्चालनमा आएको उद्योगले पुष मसान्तसम्मको उखु खरिद वापतको करिब ३९ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको दाबी गरेको छ ।

उद्योगले गत वर्षको उखुको मूल्यलाई आधार मानेर कृषकलाई यस वर्षको भुक्तानी गरिरहेको छ । हाल नेपाल सरकारले उखुको मूल्य कायम नगरेको भए पनि गत सालको मुल्यलाई नै आधार मानेर भुक्तानी गरिरहेको ईन्दुशंकर चिनी उद्योगका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । हाल कृषकलाई भुक्तानी गरिएको मूल्यमा सरकारले तोकेपछि थपघट हुन आएमा सोही अनुसार भुक्तानी गरिने अधिकृत नेपालको भनाइ छ ।

केही वर्षयता सरकारले उखुको मूल्य प्रति क्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकेको छ । जसमा उद्योगले प्रति क्विन्टल ४७१ रुपैंया २८ पैसा तथा सरकारले प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान स्वरुप किसानलाई उपलब्ध गराउँदै आएको छ । हालसम्म ईन्दुशंकर चिनी मिलले १४ लाख २८ हजार नौँ सय क्वीन्टल उखु क्रसिङ गरिसकेको वरिष्ठ प्रशासकीय अधिकृत नेपालले जानकारी दिए ।