भारतीय पक्षको मौनताले खुलेन सीमा नाका

2
भारतको सोनवर्षा जोड्ने मुख्य नाका स्थित गोरखकाली चौकी परिसरमा रोकिएका भारतीय सबारी साधन तथा भारतमा किनमेल गरेर आउने सर्बसाधारणको सामान ओसार्न नेपालतर्फ लामवद्ध अटो रिक्साहरु । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाल सरकारले भारतीय सीमा नाका खोल्ने निर्णय गरेको डेढ साता बित्दा समेत सर्लाहीको सदरमुकाम मलंगवा स्थित भारतीय सीमा नाका आईतबारसम्म पनि खुल्न सकेको छैन ।

यही माघ १५ गते विहिबार नेपाल सरकारको गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय मलंगवालाई सर्लाहीको मुख्य सीमा मलंगवा नाका खुला गरिएको पत्र आएको थियो । गृह मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय मलंगवालाई पत्र पठाएको डेढ हप्ता बित्दा समेत उक्त नाका सूचारु हुने सकेको छैन ।

भारतीय पक्षको उदासिनताका कारण नाका खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार विहिबार अबेर गृह मन्त्रालयबाट मलंगवा नाका खुलाउने पत्र आएको थियो । भारतको सीतामाढी जिल्लाकी मेजेस्टिकसँग फोन सम्पर्क गरेपनि कुरै हुन नसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले गृह मन्त्रालयबाट पत्र आएको भोलिपल्टै अर्थात माघ १६ गते शुक्रबार ३–४ पटक तथा त्यसपछि पनि पटक–पटक फोन गर्दापनि समकक्षी भारतको सीतामढी जिल्लाकी प्रमुख अभिलाशा कुमारी शर्माले रिसिभ नै नगरेको बताईएको छ ।

‘फोनमा कुनै रेस्पोन्स नभएपछि, नेपाल सरकारले गरेको निर्णयबारे भारत सीतामाढी जिल्लाकी मेजेस्किज्यूलाई ईमेल मार्फत लिखित जानकारी गराएको थिएँ’, प्रजिअ पौडेलले भने, ‘तर उताबाट कुनै जवाफ आएको छैन ।’ सीमा वारपार गर्ने सबालमा स्वास्थ्य सुरक्षाको मापदण्ड कसरी अपनाउने लगायत बारेमा छलफल गरेर उचित निकास देखिएपछि मात्र सीमा नाका खोल्ने बारे भारतीय पक्षले सोचिरहेको सर्लाही स्थित प्रहरी प्रशासनका अधिकारीहरुले जानकारी दिए ।

‘खासगरी कुटनैतिक रुपमा कुरा गरेपछि मात्र प्रशासनिक निर्णय गरेको भए नाका तत्कालै खुल्ने थियो’, एक जानकारले भने, ‘यो त केटाकेटी पाराले नेपाल सरकारले सस्तो लोकप्रियताका लागि आफ्नो तर्फबाट मात्र निर्णय गरेकाले भारतीय पक्षबाट कुनै चासो नदेखाईएको हो ।’ प्रजिअ पौडेल पनि सीमा सुचारु गर्नका लागि भारतीय पक्षले जिल्ला तहबाट भन्दापनि केन्द्रीय सरकारकै निर्णय कुरेर बसेको हुनसक्ने बताउँछन् ।

कोरोना भाईरसको संक्रमण विरुद्ध नेपाल सरकार र भारतीय सरकारले चालेको कदम अन्तर्गत गत चैत १० गतेबाट भारतीय सीमा नाका हुँदै नेपालबाट भारत तथा भारतबाट नेपालतर्फ जुनसुकै सबारी साधन सहित सर्बसाधारणको पैदल आवागमन समेत रोकिएको थियो । लामो समयदेखि भारतीय नाका बन्द हुँदा निकै मार परेको भन्दै सीमा क्षेत्रका नागरिकले पटक–पटक धर्ना, आन्दोलन समेत गरेका थिए ।

पछिल्लो केही समययता भने दुवै देशका सुरक्षानिकायले सर्बसाधारणको पैदल आवतजावतमा केही खुकुलो बनाएको स्रोतले बतायो । मुख्य नाकाबाट आवतजावत बन्द भएपनि खेतको ‘चोर’ बाटो हुँदै दुवै देशका नागरिक थो–थोरै सामानहरु किनेर ओहोरदोहोर गरिरहेका छन् । सदरमुकाम मलंगवा स्थित कोल्डस्टोर चोक र भन्सार कार्यालय पछाडीको खेतको बाटोबाट मात्र दैनिक सयौं सर्बसाधारण सामान बोकेर ओहोर दोहोर गरिरहेका देखिन्छ ।

नेपाल–भारत सीमाबन्दीले सीमावर्ती क्षेत्रमा आर्थिक, सामाजिक र सांस्कृतिक गतिविधिलाई प्रभावित बनाइरहेको बेला नेपाल पक्षले मुख्य नाका खोल्ने निर्णय गरेपनि भारतीय पक्षको अवरोध कायमै रहेको छ ।