लालबन्दीमा सोनाम ल्होछारको भव्य महोत्सव हुने

15
लालबन्दीमा आईतबार दिउँसो आयोजना गरिएको पत्रकार सम्मेलमा उपस्थित तामाङ घेदुङका पदाधिकारी लगायत व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – नेपाल तामाङ घेदुङ लालबन्दी नगर समितिले २८५७ औँ सोनाम ल्होछारको अवसरमा सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ ।

लालबन्दी नगरपालिका–७, लालबन्दी बजार स्थित साझा संस्थाको प्रांगणमा माघ ३० गते देखि फागुन ४ गते सम्म ल्होछार साँस्कृतिक महोत्सव हुने आयोजकले बताएका छन् । नेपाल तामाङ घेदुङ लालबन्दीका नगर अध्यक्ष बुद्ध लामाका अनुसार महोत्सवमा शुभकामना आदान प्रदान तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुको सांगितिक प्रस्तुती रहने छ ।

आईतबार दिउँसो लालबन्दीमा पत्रकार सम्मेलन गर्दै आयोजकले सोनाम ल्होछार साँस्कृतिक महोत्सवका बारेमा जानकारी गराएका हुन् । महोत्सव आयोजक नेपाल तामाङ घेदुङ लालबन्दीका अध्यक्ष लामाले महोत्सवमा ६ लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

घेदुङ लालबन्दीका अध्यक्ष लामाका अनुसार महोत्सव आयोजनका लागि लाग्ने खर्च व्यवस्थापनको लागि घेदुङका १७ जना पदाधिकारी बाट जनही १० हजार रुपैंयाका दरले सहयोग संकलन गरिएको र स्थानिय समाजसेवी, व्यवसायि लगायतबाट थप सहयोग संकलन गर्ने उद्धेश्य राखिएको छ । त्यस्तै लालबन्दी नगरपालिका कार्यालयबाट पनि महोत्सव आयोजनाका लागि यथाशक्य सहयोगको प्रतिबद्धता आएको लामाले जानकारी दिए ।

तामाङ घेदुङ प्रदेश सदस्य इन्द्र वल तामाङका अनुसार महोत्सवमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुको प्रस्तुती सहित रोटेपिङ, सर्कस लगाएतका बिभिन्न खेल तथा झाँकी प्रदर्शन हुनेछ । नेपाल तामाङ घेदुङ लालबन्दी नगर अध्यक्ष बुद्ध लामाको सभापतित्वमा लालबन्दी स्थित नमस्ते होटलको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी लामा, नेपाल तामाङ घेदुङ प्रदेश सदस्य इन्द्रवल तामाङ, लालबन्दी ७ का कार्यबहाक वडा अध्यक्ष गोपाल कार्की, नेपाली कांग्रेस नेतृ सोनी बम्जन, कांग्रेस नेता शेरबहादुर लामा सहित तामाङ घेदुङका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।