सर्लाहीमा कोरोना खोपको पहिलो अभियान सकियो

6
बुधबार खोप अभियान उद्घाटनका अवसरमा खोप लगाउदै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह ।

मलंगवा – कोरोना भाईरस विरुद्धको खोपको पहिलो चरणको अभियान सर्लाहीमा शनिबारबाट सकिएको छ ।

सर्लाहीमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी तथा सरसफाईकर्मी, महिला स्वयंसेविका, एम्बुलेन्स चालक, शव वाहन चालक लगायतलाई खोप लगाइएको छ । अभियान अन्तर्गत पहिलो चरणको १० दिनमा अग्रपंक्तिमा खटिने सबैलाई खोप लगाउने तय गरिएपनि शनिबार थप एकदिन समय थपिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय मलंगवाका अनुसार सर्लाहीमा अभियान अन्तर्गत पहिलो चरणमा दुई हजार ९७६ जनाले खोप लगाएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् ।

सर्लाहीमा लक्ष्य अनुसार खोप अभियानको पहिलो चरण सफल भएको जिल्ला जनस्वास्थ्य प्रशासक श्रवण नायकले बताए । जिल्लाबाट कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएकोमा ५ हजार ३०० डोजमात्र प्राप्त भएको थियो ।

अब आईतबार आउने लिखित निर्देशन अनुसार बाँकी रहेको खोपलाई सर्लाहीमै भण्डारण गरेर राख्ने कि केन्द्रलाई फिर्ता पठाउने भन्ने निर्णय गरिने बताईएको छ । सर्लाहीमा अहिलेसम्म खोप लगाएका कोही पनि व्यक्तिमा कुनै पनि किसिमको स्वास्थ्य समस्या नदेखिएको जनस्वास्थ्य प्रशासक नायकले बताएका छन् । पहिलो डोज खोप लगाएका व्यक्तिले अब २८ दिनपछि फेरी दोश्रो डोज लगाउनुपर्ने छ । अघिल्लो बुधबार अर्थात माघ १४ गतेबाट सर्लाहीसहित देशभर सुरु गरिएको पहिलो चरणको अभियान माघ २४ गते शनिबारबाट अन्त्य भएको छ ।