प्रतिबन्धित १२०० ट्याब्लेट सहित नन्दकिशोर पक्राउ

बरामद् लागूऔषध ।

मलंगवा – लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित एक युवक पक्राउ परेका छन् ।

लागूऔषधको रुपमा प्रयोग हुने नाईट्राभेट–१० नामक १२०० ट्याब्लेट औषधी सहित कबिलासी नगरपालिका–१० निवासी ३० वर्षीय नन्दकिशोर रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवामा सूचना अधिकृत प्रहरी निरीक्षक दिपक चोरवारले जानकारी दिए । सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको भारतीय BR-30-M-0395 नम्बरको मोटरसाईकलमा उक्त लागूऔषध ओसार्दै गरेको अवस्थामा शुक्रबार साँझ रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको टोलीले कविलासी नगरपालिका–८ अगर्वामा चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारेको प्रहरी निरीक्षक चोरवारले जानकारी दिए । सेतो प्लाष्टिकको झोलामा लुकाई छिपाई मोटरसाईकलमा राखेर नवलपुरतर्फ गईरहेको अवस्थामा उक्त लागूऔषध बरामद् भएको प्रहरीले जनाएको छ । हाल बरामद् लागूऔषध र मोटरसाईकल सहित ओसारपसारमा संलग्न रायलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अगाडी बढाईएको प्रहरीले जनायो ।

लागूऔषधको रुपमा प्रयोग हुने भएकाले नेपालमा प्रतिबन्ध लगाईएका विभिन्न औषधीहरु भारतमा खुला भएकाले कारोबारी एवं सेवनकर्ताले उताबाट किनेर नेपालतर्फ भित्र्याउने गरेका छन् ।