नेकपा ईन्चार्ज वाग्लेको दाहसंस्कार सम्पन्न, नारायणकाजीले ओढाए पार्टी झण्डा (फोटो फिचर सहित)

बागमती – दुर्घटनामा मृत्यु भएका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको दाहसंस्कार गरिएको छ ।

शनिबार दिउँसो नेकपा प्रवक्ता एवं प्रचण्ड–नेपाल समूहका केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले वाग्लेको पार्थिव शरिरमा पार्टी झण्डा ओढाएर अन्तिम श्रृद्धाञ्जली प्रकट गरेका छन् । बागमती नदी किनारमा आयोजित श्रृद्धाञ्जली कार्यक्रमा संक्षिप्त बोल्दै श्रेष्ठले वाग्लेले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानको चर्चा गरे । कुनै लोभ लालच नराखी शोषित पीडित जनताका लागि अनवरत रुपमा क्रियाशिल वाग्लेको मृत्युले नेपाली वाम प्रजातान्त्रिक आन्दोलनमा अतुललिनय क्षति पुगेको भन्दै वाग्लेबाट सबै कम्युनिष्ट नेता कार्यकर्ताले सिक्नुपर्ने आवश्यकता रहेको बताए ।

स्व. वाग्लेको पार्थिव शरिरमा श्रृद्धाञ्जली अर्पण गर्न नेकपा स्थायी कमिटी सदस्य एवं निवर्तमान शिक्षा मन्त्री गिरिराज मणि पोखरेल, नेकपाका केन्द्रीय सदस्य विश्वनाथ साह, प्रदेश दुई सह–ईन्चार्ज एवं केन्द्रीय सदस्य नागेन्द्र चौधरी, केन्द्रीय सदस्यहरु प्रल्लाद बुढाथोकी, रामेश्वर राय यादव, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो, अच्युतम काफ्ले, लक्ष्मण पौडेल, रविन्द्र बैठा, राजु खड्का, युवराज भट्टराई, प्रकाश पोखरेल, हरिनारायण चौधरी, जिल्ला अध्यक्ष रेवती पन्त, राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, प्रदेश सभा सदस्यद्वय डिल्लीप्रसाद उप्रेती र बेची लुंगेली लगायत नेताहरुको उपस्थिती रहेको थियो । सबै नेताहरुले वाग्लेको पार्थिव शरिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रृद्धाञ्जली प्रकट गरेका थिए । दाहसंस्कार स्थल शोकाकुल देखिन्थ्यो । वाग्लेकी पत्नी सरस्वती सहित छोराहरु अनि आफन्तको रुवाबासीले दाहसंस्कार स्थललाई थप शोकमग्न बनाएको थियो । सबै नेता कार्यकर्ताहरुको मुहार मलिन देखिन्थ्यो । वाग्लेको दाहसंस्कारमा नेकपा सहित अन्य विभिन्न राजनैतिक दलका नेता कार्यकर्ता एवं सर्बसाधारण सहित मानवसागर उर्लिएको थियो ।

नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीका अनुसार शनिबार बिहान धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरेर वाग्लेको शव दाहसंस्कारका लागि बागमती किनारमा ल्याईएको हो । पार्टीका स्थायी समिति सदस्य गिरिराज मणि पोखरेलको नेतृत्वमा स्व. वाग्लेकी पत्नी, दुई छोरा सहित परिवारका अन्य सदस्यहरुले स्व. वाग्लेको शव सर्लाही ल्याएका हुन् ।

यसअघि विहिबार दिउँसो दाहसंस्कार नगर्ने र स्वास्थ्य विज्ञान अध्ययनका लागि शरिर दान गर्ने भन्दै वाग्लेको शव धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर शुक्रबार साँझ एक्कासी पार्टी एवं पारिवारिक निर्णय अनुसार वाग्लेको शवको शनिबार दिउँसो बागमती नदी किनारमा दाहसंस्कार गर्ने कार्यक्रम तय भएको थियो ।

घटना शंकाष्पद् भएको भन्दै पार्टीका नेता कार्यकर्ता र परिवारका सदस्यले मृत्त शरिरको पोष्टमार्टम गर्ने अडान लिएको बताईएको छ । पोष्टमार्टम गरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानले अध्ययनका लागि र शरिर दान नलिने भएकाले स्व. वाग्लेको पार्थिव शरिरको दाहसंस्कार गरिएको हो ।

सर्लाही प्रहरीका अनुसार बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार तत्काल प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज। १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग भने, ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन ।