नेकपा ईन्चार्ज वाग्लेको शवको भोलीमात्र पोष्टमार्टम हुने

स्व. डाचाराज वाग्ले ।

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शवको भोली (शनिबार) मात्र पोष्टमार्टम हुने भएको छ । उनको शव हिजै (विहिबार) धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

नेकपा सर्लाही सचिव कमल बुढाथोकीका अनुसार वाग्लेका जेठा छोरा जर्मनीबाट आज (शुक्रबार) दिउँसो काठमाडौंमा झर्ने र पुनः फ्लाईटबाट विराटनगर हुँदै धरान जाँदा ढिला हुने भएकाले भोली मात्र शवको पोष्टमार्टम हुने सम्भावना रहेको हो । ‘उहाँको छोराले म आएपछि मात्र पोष्टमार्टम गर्न अनुरोध गरेकाले ढिला हुने भएको हो’, सचिब बुढाथोकीले भने, ‘सम्भवतः आज साँझैसम्म वा भोली पोष्टमार्टम हुनेछ ।’

विहिबार दिउँसो लालबन्दीमा श्रृद्धाञ्जली कार्यक्रम गरेर ईन्चार्ज वाग्लेको शव धरानतर्फ पठाईएको थियो । जिल्ला सचिब बुढाथोकीकै नेतृत्वमा वाग्लेकी पत्नी र एक छोरा सहित परिवारका अन्य सदस्यहरु धरानतर्फ गएका थिए । सचिब बुढाथोकी भने राती नै सर्लाही फर्किसकेका छन् ।

यो पनि पढ्नोस्

नेकपा ईन्चार्ज वाग्लेको शव धरान पठाईयो, दाहसंस्कार नहुने

ईन्चार्ज वाग्लेको मृत्यु घटना शंकाष्पद् भन्दै नेकपा सर्लाहीद्वारा निश्पक्ष छानविनको माग

प्रहरीका अनुसार बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार तत्काल प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

यसैबीच नेकपा सर्लाहीका नेताहरुको टोलीले आज (शुक्रबार) घटनास्थलको निरीक्षण सहित वाग्ले लडिरहेको अवस्थामा पहिला देख्ने स्थानीय लगायतसँग छलफल समेत गर्ने भएको छ । सचिब बुढाथोकीका अनुसार घटना शंकाष्पद् देखिएकाले घटनास्थलको निरीक्षण सहित स्थानीयबासीसँग छलफल तथा अनुसन्धान गरिरहेको सुरक्षा अधिकारीहरुसँग पनि भेटघाट गरिने छ ।