चज क्याम्पसको अध्यक्षमा पुनः बासुदेव निरौला चयन

4
बासुदेव निरौला

हरिवन – हरिवन नगरपालिका अन्तर्गत सुखेपोखरी स्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुनः बासुदेव निरौला चयन भएको छन् । यसअघि पनि निरौला नै अध्यक्ष थिए ।

गत माघ १६ गते आयोजित क्याम्पसको नवौं अधिवेशनले सर्बसम्मत रुपमा सञ्चालक समिति लगायतमा पदाधिकारीहरु चयन गर्नका लागि गठित निर्वाचन समितिको निर्णय अनुसार क्याम्पस सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र अनगमन समितिले पूर्णता पाएको हो । क्याम्पस प्रमुख हरिलाल मैनालीले एक सूचना प्रकाशित गरी निर्वाचन समितिले सर्बसम्मत रुपमा चयन गरेका पदाधिकारीहरुको नामाबाली सार्बजनिक गरेका छन् ।

संचालक समितिको अध्यक्ष बासुदेव निरौला, उपाध्यक्षमा वडा नं. ९ का वडाध्यक्ष सीताराम पोखरेल, कोषाध्यक्षमा विदुर प्याकुरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्णबहादुर केसी, सिता देवी थापा, डाकुरनाथ खतिवडा, वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, टेकबहादुर बोगटी, रामप्रसाद घिमिरे र सोनी कुमारी बम्जन रहेका छन् । संचालक समितिको सचिबमा भने स्वतः क्याम्पस प्रमुख मैनाली हुनेछन् । त्यस्तै निर्वाचन समितिले लेखा सुपरिवेक्षण समितिको संयोजकमा दिपेन्द्रप्रसाद मैनाली एवं अनुगमन समितिको संयोजकमा कांग्रेस नेता डोरप्रसाद भट्टराईलाई चयन गरेको छ ।

१९ सदस्यीय संचालक समितिमा १० जना निर्वाचनबाट तथा ७ जना सदस्य पदेन र २ जना संचालक समितिले मनोनयन गर्ने व्यवस्था रहेको क्याम्पस प्रमुख मैनालीले जानकारी दिए । नवौं अधिवेशनले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको संयोजकत्वमा राजकुमार उप्रेती र रामशरण उप्रेती रहेको निर्वाचन समिति गठन गरेको थियो । उक्त निर्वाचन समितिले सर्बसम्मत रुपमा १० सदस्यी संचालक समिति चयन गरेको हो ।

नयाँ पदाधिकारी एवं सदस्यहरुको शपथग्रहण एवं पदस्थापन कार्यक्रम आगामी माघ २८ गते बुधबार बिहान ८ बजे क्याम्पसको सभाहलमा राखिएको छ । नयाँ पदाधिकारीहरुको पदावधी ३ वर्षको हुनेछ ।

अब २ जना सदस्य संचालक समितिको निर्णय अनुसार चयन हुनेछन् । त्यस्तै ७ जना पदेनहरुमा भने सदस्य सचिवको रुपमा क्याम्पस प्रमुख तथा सदस्यहरुमा त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि, वडा नं. १० का वडाध्यक्ष, क्याम्पसका प्रध्यापक संघका सभापति, क्याम्पस कर्मचारी युनियनका सभापति, स्ववियु सभापति र संचालक समितिका निवर्तमान अध्यक्ष रहने व्यवस्था रहेको छ । निवर्तमान संचालक समितिका अध्यक्ष पुनः नयाँ कार्यकालका लागि पनि अध्यक्षमा चयन भएकाले संचालक समितिले पदेन सदस्यको रुपमा रहने निवर्तमान अध्यक्षको रिक्त ठाउँमा अर्को सदस्य चयन गर्ने वा नगर्ने निर्णय गर्ने क्याम्पस प्रमुख मैनालीले जानकारी दिए ।