सहकारीकर्मी घिमिरेद्वारा वृद्धाश्रममा भोजन

15
वृद्धाश्रममा आश्रीत वृद्धवृद्धालाई भोजन गराउन पुगेका सहकारीकर्मी घिमिरे सहित परिवारका सदस्यहरु । (तस्बिर : उज्यालो अभियान)

जुटपानी, माघ २२ – सहकारीकर्मी एक मनकारीले विहिबार लालबन्दी नगरपालिका–२, जुटपानी स्थित वृद्धाश्रममा आश्रीत वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएका छन् ।

जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीका अध्यक्ष एवं सगुन सहकारी बचत तथा ऋण सहकारी संस्था हरिवनका पूर्व अध्यक्ष बाबुराम घिमिरेले वृद्धाश्रममा मिष्ठान्न भोजन गराएका हुन् । घिमिरेले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रममा विहिबार बिहानको खाना र दिउँसोको खाजाको व्यवस्था गरेको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।

सगुन शिक्षा सहकारी संस्थाका अध्यक्ष समेत रहेका हरिवन नगरपालिका–८, डाँडाटोल निवासी घिमिरेले सपरिवार आश्रममा आएर वृद्धवृद्धालाई भोजन गराएका थिए । आश्रम परिवारले घिमिरे परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यसैगरी सहयोगको अपेक्षा गरेको छ ।

यसैबिच, मानव सेवा आश्रम, हरिवनले सर्लाहीको हरिवन नगरपालीका–९ बाट एक जना मनरोगीको उद्धार गरेको छ । हरिवन नगरपालिका–९ नयाँरोडबाट सडकमा मागेर हिँडिरहेका एकजनाको उद्धार गरेको मानव सेवा आश्रमले जनाएको छ ।