नेकपा सर्लाही ईन्चार्ज वाग्लेको शव पोष्टमार्टमका लागि मलंगवा लगियो

6
स्व. डाचाराज वाग्ले ।

मलंगवा – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शव पोष्टमार्टका लागि सदरमुकाम मलंगवा लगिएको छ ।

सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि विहिबार बिहान वाग्लेको शव ल्याईएको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले वाग्लेको मृत्यु भईसकेको बताएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यव सिंह भाटले जानकारी दिए । प्रनाउ भाटका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा वाग्लेको टाउकोमा हेल्मेट र आँखामा चश्मा थियो ।

नेकपा जिल्ला अध्यक्ष रेवती पन्तका अनुसार वाग्ले बुधबार दिउँसो बरहथवामा पार्टीको जिल्ला कमिटीको पूर्ण बैठकमा सहभागि भई पार्टीले नै बुधबार साँझ आयोजना गरेको मसाल जुलुसको नेतृत्व गर्न बरहथवामा बसेका थिए । पन्तका अनुसार उक्त मसाल जुलुस सम्पन्न गरेर नयाँरोडतर्फ फर्किने क्रममा वाग्ले मोटरसाईकल दुर्घटनामा परेका हुन् । वाग्ले संघीय संसद् विघटन प्रकरण पश्चात प्रचण्ड–नेपाल समूहमा सकृय थिए ।

मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन । प्रहरीले भने कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक राठौरले भने, ‘आफै लडेको जस्तो देखिन्छ, तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ नेकपाका नेताहरुले भने घटना शंकाष्पद् देखिएकाले निश्पक्ष रुपमा अनुसन्धान गर्न माग गरेका छन् ।

५२ वर्षीय वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा छन् भने अर्का छोरा नेपालमै छन् ।

शरिर दान गर्ने बारे छलफल

यसैबीच वाग्लेको शव वैज्ञानिक अनुसन्धानका लागि दान दिने विषयमा समेत कुरा भईरहेको नेकपा सर्लाहीका सचिब कमल बुढाथोकीले जानकारी दिए । ‘उहाँको शरिर कुनै मेडिकल कलेजलाई दान गर्ने कि भन्ने कुरा पनि चलिरहेको छ’, बुढाथोकीले विहिबार उज्यालो अभियानसँग भने, ‘हाँमी पार्टीका साथिहरु अहिले मलंगवामा बैठकमै छौं, उहाँका एक छोरा जर्मनीबाट भोली आउँदै हुनुहुन्छ, अनि थप कुराहरु अगाडी बढ्छ होला ।’