नेकपा ईन्चार्ज वाग्लेको शव धरान पठाईयो, दाहसंस्कार नहुने

8
स्व. डाचाराज वाग्ले ।
दुर्घटनाग्रस्त वाग्ले चढेकाे माेटरसाईकल ।

मलंगवा – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको शव धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

विहिबार दिउँसो लालबन्दीमा श्रृद्धाञ्जली कार्यक्रम गरेर ईन्चार्ज वाग्लेको शव धरानतर्फ पठाईएको नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए । ‘लालबन्दीमा श्रृद्धाञ्जली कार्यक्रम गरेर उहाँको शव दिउँसो धरानतर्फ लगिएको छ’, अध्यक्ष पन्तले उज्यालो अभियानसँग भने, ‘अब शवको पोष्टमार्टम धरानमै गरिने छ र मेडिकल अध्ययननका लागि सोही स्वास्थ्य प्रतिष्ठानलाई परिवारले उहाँको शरिर दान गर्ने कार्यक्रम छ ।’ अध्यक्ष पन्तका अनुसार जिल्ला सचिब कमल बुढाथोकीको नेतृत्वमा वाग्लेकी पत्नी र एक छोरा सहित परिवारका अन्य सदस्यहरु धरानतर्फ गएका छन् ।

त्यसअघि विहिबार बिहान वाग्लेको शव पोष्टमार्टका लागि भन्दै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा लगिएको थियो । तर पछि पोष्टमार्टम धरानमै गर्ने नेकपा एवं परिवारका सदस्यले माग गरेपछि उतै पठाईएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

मलंगवामा गरिने पोष्टमार्टमको विश्वास नलागेर धरान लगिएको हो त भन्ने प्रश्नमा नेकपा जिल्ला अध्यक्ष पन्तले भने, ‘त्यस्तो केही हैन, शरिर नै दान गर्ने भएपछि जतिसक्दो छिटो धरान पठायो, उति अंगहरु काम लाग्ने सक्ने भन्ने कुरा आएकाले पोष्टमार्टम पनि उतै गर्ने गरी पठाईएको हो ।’ शवको दाहसंस्कार नहुने भएपछि वाग्लेको हिन्दु परम्परा अनुसार काजकिरिया पनि नहुने अध्यक्ष पन्तले जानकारी दिए । अध्यक्ष पन्तका अनुसार १३ औं पुण्य तिथिका दिन श्रद्धाञ्जली सभाको आयोजना गरिने छ ।

प्रहरीका अनुसार बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार तत्काल प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग भने, ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’ मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन ।

यता नेकपा जिल्ला अध्यक्ष रेवती पन्तले विहिबार बिहान एक श्रृद्धाञ्जली विज्ञप्ति जारी गर्दै घटना शंकाष्पद् देखिएकाले निश्पक्ष छानविन गर्न माग गरेका छन् । प्रहरी उपरीक्षक राठौरले ईलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालयको टोली सहित प्रदेश प्रहरी कार्यालयबाट समेत अनुसन्धान टोली मगाईएको जानकारी दिए ।

यो पनि पढ्नोस्

ईन्चार्ज वाग्लेको मृत्यु घटना शंकाष्पद् भन्दै नेकपा सर्लाहीद्वारा निश्पक्ष छानविनको माग

नेकपा केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज वाग्लेको दुर्घटनामा मृत्यु

५२ वर्षीय वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिएका थिए । उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएको थिए । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका थिए ।

वाग्लेका श्रीमती र दुई छोरा छन् । सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा छन् भने अर्का छोरा नेपालमै छन् ।