ईन्चार्ज वाग्लेको मृत्यु घटना शंकाष्पद् भन्दै नेकपा सर्लाहीद्वारा निश्पक्ष छानविनको माग

6
स्व. डाचाराज वाग्ले ।
नेकपा सर्लाहीका अध्यक्ष पन्तले निकालेको विज्ञप्ति ।

मलंगवा – नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मृत्यु घटना शंकाष्पद् देखिएको भन्दै निश्पक्ष छानविनको माग गरिएको छ ।

विहिबार बिहान नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तले श्रद्धाञ्जली विज्ञप्ति जारी गर्दै घटनाबारे निश्पक्ष छानविन सहित दोषि जो कोही भएपनि कडा कानूनी कार्बाहीको माग गरेका छन् । शव पोष्टमार्टका लागि सदरमुकाम मलंगवा लगिएको छ । ‘२०७७ माघ २१ गते सर्लाहीको बरहथवामा भएको पार्टी जिल्ला कमिटीको बैठकमा अतिथि रहनु भएका उहाँले साँझ बरहथवामा नै भएको मसाल जुलुस पछिको कोण सभालाई सम्बोधन गर्नु भएको थियो, त्यसपछि सर्लाहीको बागमतीतर्फ जाने क्रममा साँझ करिब ९ बजे बरहथवा–नयाँरोड सडकको मूर्तिया जंगलमा उहाँलाई मृत अवस्थामा प्रहरीले भेटेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘दुर्घटना भनिएपनि उहाँको मृत्यु रहस्यमय देखिएको छ, मोटरसाईकलको अगाडीको भाग क्षतविक्षत भएको, उहाँको हातगोडा बाहेकको शरिरमा चोटपटक नदेखिएको, खुट्टामा गहिरो चोट भएपनि पाईन्ट नच्यातिएको एवं रगत नदेखिएको, हेल्मेट र चश्मा जस्ताको तस्तै देखिएको आदि जस्ता शंकाष्पद् तथ्य देखिएको छ, त्यसैले यो घटनाबारे गम्भिर अनुसन्धान गर्न प्रहरीको विशेष टोली ल्याउन, दोषि जो सुकै भएपनि कानूनको कठघेरामा ल्याउन र चाँडै सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई पार्टी जोडदार माग गर्दछ ।’

त्यस्तै स्व. वाग्लेको सम्मानमा विहिबारदेखि तीन दिनसम्म पार्टीको औपचारिक कार्यक्रम नराख्ने एवं पार्टी कार्यालयहरुमा झण्डा झुकाएर राख्ने लगायत कार्यक्रम समेत विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ । साथै आज (विहिबार) अपरान्ह ४ बजे सर्लाहीको २० वटै स्थानीय तहमा पार्टीको स्थानीय कमिटीले शोक पुस्तिका खडा गर्ने र श्रद्धाञ्जली कार्यक्रम गर्ने कार्यक्रम पार्टीले तय गरेको हुँदा सोही अनुसार सबै स्थानीय पार्टी संयन्त्रलाई गर्न आग्रह समेत गरिएको छ ।

प्रहरीले भने घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको जानकार दिएको छ । वाग्लेको शव पोष्टमार्टमका लागि विहिबार बिहान सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा लगिएको छ ।

बरहथबाबाट नयाँरोडतर्फ आउँदै गर्दा मूर्तिया चोकबाट केही सय मिटर उत्तर वन कार्यालय नजिक नयाँरोड–बरहथवा सडकखण्डमा बुधबार राती ९ बजे लडिरहेको अबस्थामा वाग्लेलाई स्थानीयले देखेका थिए । स्थानीयको खबर अनुसार प्रहरी घटनास्थल पुगेको थियो । लगतै प्रहरीले वाग्लेको शरिरलाई उठाएर पा्रथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचारका लागि लगेको थियो । त्यहाँका चिकित्सकले मृत्त घोषणा गरेका थिए । प्रहरीका अनुसार वाग्ले ज. १० प ३२०६ नम्बरको मोटरसाईकलमा बरहथवाबाट नयाँरोडतर्फ आउँदै थिए ।

मोटरसाईकलमा उनी एक्लै भएकाले अझैपनि घटनाबारे एकिन थाहा हुन सकेको छैन । प्रहरीले भने कुनै जंगली जनाबरले बाटो काटेपछि तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई पल्टिएको वा आफै लडेको हुनसक्ने अनुमान गरेको छ । ‘मोटरसाईकल र मृतकको अवस्था हेर्दा अर्को ठूलो सबारी साधनले ठक्कर दिएको जस्तो देखिँदैन’, प्रहरी उपरीक्षक राठौरले भने, ‘तथापी घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, पोष्टमार्टम रिपोर्ट पश्चात थप कुराहरु खुल्ने छ ।’

५२ वर्षीय वाग्ले २०४२ सालदेखि नै प्रगतिशिल विद्यार्थी आन्दोलनमा जोडिएका थिए । उनी २०४५ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य तथा २०५२ मा तत्कालिन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भएको थिए । २०६४ सालमा तत्कालिन एकता केन्द्र मसाल राम सिंह समूहको केन्द्रीय सदस्य बनेका वाग्ले एकता पछि तत्कालिन नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय सदस्य हुँदै देशको बाम प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता पश्चात बनेको नेकपामा केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्जको रुपमा क्रियाशिल वाग्ले संसद् विघटन प्रकरण पश्चात सत्ताधारी नेकपामा आएको विवादसँगै प्रचण्ड–नेपाल समूहमा आवद्ध रहेर आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका थिए ।

वाग्लेका श्रीमती र दुई छोरा छन्। सर्लाहीको हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका वाग्ले परिवारसहित महोत्तरीको बर्दिबास बस्दै आएका थिए । उनका जेठा छोरा जर्मनीमा छन् भने अर्का छोरा नेपालमै छन् ।