आमहड्तालले सर्लाहीको जनजिवन प्रभावित

नेकपा प्रचण्ड–नेपाल समूहको आमहड्तालका कारण विहिबार बिहानैदेखि बागमतीमा रोकेर राखिएका मालबाहक ट्रकको लाम । पौराई जंगल पर्ने भएकाले बन्दकर्ताले जंगल क्षेत्रमा कुनै अपृय घटना नगराउन भन्ने उद्धेश्यले सुरक्षाकर्मीले नै उक्त सवारी साधनलाई दिनभर रोकेर राखेको र राती गन्तब्यतर्फ पठाईने बताईएको छ (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको देशव्यापी आमहड्तालले विहिबार दिनभर सर्लाहीको जनजिवन पनि प्रभावित भएको छ ।

लालबन्दी स्थित पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्न बसेका नेकपा नेता कार्यकर्ता । (तस्बिर : कृष्ण थपलिया/उज्यालो अभियान)

प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले विहिबार आमहड्ताल घोषणा गरेको हो । हड्तालका कारण लामो दुरीका सार्बजनिक यात्रुबस चलेनन् । मालबाहक ट्रकहरु पनि फाट्टफुट्ट चलेका थिए । स्थानीय रुटका म्याजिक, अटो रिक्सा लगायत साना सबारी साधन मोटरसाईकल भने निर्वाध चलेको थियो ।

नेकपाका कार्यकर्ताहरु बिहानैदेखि हरिवन, लालबन्दी, बागमती लगायत चोकमा बसेर पूर्व–पश्चिम राजमार्गमा अवरोध गरिरहेका थिए । त्यस्तै ईश्वरपुर, बरहथवा लगायत दक्षिणी क्षेत्रका बजारहरुमा पनि नेकपा नेता कार्यकर्ताले बन्द गर्दै हिँडेका थिए । जिल्लाभर बजारहरु भने आंशिक मात्रै खुलेको थियो । सरकारी तथा निजी विद्यालयहरु समेत सूचारु भएनन् । बन्दका क्रममा कुनै अपृय घटना नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । आमहड्ताल सफल पार्नका लागि नेकपा नेता कार्यकर्ताले बुधबार साँझ जिल्ला स्थित हरिवन, लालबन्दी, मलंगवा, बरहथवा लगायत बजारहरुमा मसाल जुलुस समेत गरेका थिए ।

आमहड्तालका कारण बन्द ईश्वरपुर बजारका सटरहरु । (तस्बिर : प्रकाश मैनाली/उज्यालो अभियान)

यद्यपी नेकपा सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको बुधबार राती दुर्घटनामा मृत्यु भएपछि विहिबार दिनभर नेकपाका नेता कार्यकर्ताहरु सोही घटनामा केन्द्रित हुने र श्रृद्धाञ्जली कार्यक्रम गर्ने लगायतमा व्यस्त भएपछि सर्लाहीमा आमहड्तालको प्रभाव कम भएको एक नेताले बताए ।