१७ करोड लागतमा जिल्ला प्रशासन कार्यालय भवन बन्ने

9

मलंगवा – जिल्ला प्रशासन कार्यालय मलंगवाको नयाँ कार्यालय भवन बन्ने भएको छ ।

नयाँ कार्यालय भवन निर्माणका लागि १७ करोड रुपैंया बजेट स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘नयाँ भवन निर्माणका लागि रातो किताबमा ३ करोड रुपैंया मात्रै परेको थियो, त्यतिले त भवन बन्नै सक्दैन भनेर ईष्टमेट सहित रकम थप्न माग गर्दै गृह मन्त्रालयमा पत्राचार गरेका थियौं’, प्रजिअ पौडेलले उज्यालो अभियानसँग भने, ‘गृहले अर्थ मन्त्रालयमा पठाएको उक्त फाईल स्विकृत भएको खबर आएको छ, अब गृहबाट हाँमीलाई आधिकारिक जानकारी आउन बाँकी छ ।’

आधिकारिक जानकारी आउने वितिकै भवन निर्माणका लागि टेण्डर प्रकृया सूरु गरिने प्रजिअ पौडेलले जानकारी दिए । ‘चालू वर्षमा ३ करोड तथा आगामी दुई वर्षमा दुई किस्ता गरी जम्मा १७ करोड रुपैंया निकासा गर्नेगरी अर्थ मन्त्रालयबाट फाईल स्विकृत भएको छ’, प्रजिअ पौडेलले भने, ‘अथक प्रयासका कारण नयाँ भवनका लागि बजेट परेको छ ।’ हालको कार्यालय भवन भत्काएर बन्ने नयाँ भवन साँढे ३ तल्लाको सुविधा सम्पन्न हुने प्रजिअ पौडेलले बताए ।

‘अहिलेको भवन अत्यन्त जीर्ण भईसकेको छ, हरेक वर्षायाममा ४ फिटसम्म पानी जम्ने गरेका कारण कार्यालयका अधिकांश कागजात एवं विद्युतीय सिष्टम खराब हुने गरेको छ, गएको वर्षायाममा त जमेको पानीले ईन्भर्टर, ब्याट्री लगायत खराबी हुँदा ५ लाख रुपैंया भन्दा बढीको सामान नष्ट भएको थियो’, प्रजिअ पौडेलले भने, ‘अब नयाँ भवन बनेपछि डुबानको समस्याबाट मुक्ति पाउने मात्र हैन, कर्मचारी र सेवाग्राहीलाई सेवा दिने र लिने काममा पनि निकै सहज हुनेछ ।’

जिल्ला स्थित ईलाका प्रशासन कार्यालय हरिवनको आफ्नै नयाँ कार्यालय भवन छ भने ईलाका प्रशासन कार्यालय बरहथवा भाडाको घरमा सञ्चालनरत छ ।