मन्दिर निर्माणको शिलान्यास

मन्दिरको शिलान्यास गर्दै प्रदेश सांसद् महतो । (तस्बिर : सामाजिक संजाल)

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा दुर्गा मन्दिर निर्माण कार्यको शिलान्यास सम्पन्न भएको छ ।

ईश्वरपुरको वडा नं ११, तीनघरिया टोलमा बन्न लागेको दुर्गा मन्दिर निर्माणका लागि प्रदेश सांसद उपेन्द्र महतोले शिलान्यास गरेका हुन् । प्रदेश सांसद महतोको संसदीय विकास कोषको २० लाख र स्थानीयबासीबाट २ लाख रकम संकलन गरी जम्मा २२ लाखको लागतमा मन्दिर निर्माण गर्न लागिएको हो ।

मन्दिरको यसै आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गरी स्थानीयबासीका लागि खुला गरिने जनाईएको छ । ईश्वरपुर–११, तीनघरिया टोलमा पुरानो दुर्गा मन्दिर रहेको स्थानमा नै नयाँ मन्दिर निर्माण गर्न लागिएको र मन्दिर निर्माण पछि उपभोक्ता समिति समेत गठन गरिने जानकारी दिईएको छ ।

मन्दिरको शिलान्यास कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष राम दुलार साहको अध्यक्षता तथा प्रदेश सांसद महतोको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा केन्द्रीय सदस्य योगनारायण चौधरी, नागेश्वर महतो, वडा नं ९ का अध्यक्ष अमिरिलाल साह, स्थानीयवासी लगायतको उपस्थिती रहेको थियो ।