प्रचण्ड–माधव समूहको मसाल र बैठक

1
बुधबार साँझ हरिवनमा नेकपा प्रचण्ड–नेपाल समूहले निकालेको मसाल जुलुसका सहभागि । (तस्बिर : सामाजिक संजाल)

बरहथवा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बुधबार साँझ सर्लाहीमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।

प्रतिनिधि सभा विघटन र संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा प्रचण्ड–नेपाल समूहले विहिबार आमहड्ताल घोषणा गरेको छ । उक्त आमहड्ताल सफल पार्नका लागि बुधबार साँझ उक्त समूहले हरिवन, लालबन्दी, बरहथवा लगायतमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगमन भएको भन्दै त्यसविरूद्ध नारा लगाउँदै उनीहरूले मसाल जुलुस निकालेका थिए । मसाल जुलुसका सहभागिले केपी ओली मुर्दावाद, प्रतिगमन मुर्दावाद, संविधान मार्न पाइँदैनलगायत नारा लगाएका छन् ।

सरकारले असंवैधानिक कदम चालेको दाबी सहित त्यसविरूद्ध आमहड्तालसम्मको अवस्थामा जानु परेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय संघर्ष समितिले जनाएको छ । केन्द्रीय संघर्ष समितिको आव्हान अनुसार सर्लाहीमा पनि सो समूहले मसाल जुलुस प्रदर्शन गरेको हो । हरिवनमा भएको मसाल जुलुसमा नेकपा प्रचण्ड–नेपाल समूहका नेताहरु कमल बुढाथोकी, विदुर प्याकुरेल, सुरेन्द्र लामा, विद्यार्थी नेता विवेक मैनाली लगायत दर्जनौं नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसैबीच नेकपा प्रचण्ड–नेपाल समूहको बुधबार बरहथवामा सर्लाही जिल्ला कमिटिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । बरहथवा स्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको बैठकमा जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षता तथा सचिव कमल बुढाथोकीको संचालन रहेको थियो ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीका तर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा नेकपाको दाहाल–नेपाल समूहका नेताहरु पदाधिकारी रहने गरी गठन गरिएको ७ सदस्यीय कार्यदललाई अनुमति प्रदान गर्ने, माघ २८ गते हुन लागेको केन्द्रीय आन्दोलनमा सर्लाहीबाट ३५०० को हाराहारीमा नेता कार्यकर्तालाई सहभागि गराउने, विहिबारको नेपाल बन्दलाई सफल पार्नका लागि ईश्वरपुर, बागमती, लालबन्दी, हरिवन, बरहथवा, गोडैता, मलगंवा र हरिपूर्वा नगरपालिकाबाट नेता कार्यकर्ता सडकमा उतार्ने निर्णय भएको नेकपा सर्लाहीका सचिव बुढाथोकीले बताए ।

बैठकमा कार्यक्रम संचालन गर्ने क्रममा शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण पनि गरिएको थियो । बैठकमा जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य डाचाराज वाग्ले सहित केन्द्रीय सदस्यहरु प्रल्हाद बुढाथोकी, रामेश्वर राय यादव, अच्यूतम काफ्ले, प्रदेश सभा सदस्यहरु बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती, संविधान सभा सदस्य रन्जना सरकार, बागमती नगरपालिकाका प्रमुख भरत थापा लगायतको उपस्थिती रहेको थियो ।

नेकपाको जिल्ला कमिटी सर्लाहीमा १६५ जना सदस्य रहेकामा दाहाल–नेपाल समूहमा १३० वढी सदस्य रहेको र बुधबारको बैठकमा ९५ जना सदस्यको उपस्थिती रहेको सो समूहले दाबी गरेको छ ।