सर्लाही भूमि आयोगको अध्यक्षमा यादव

6
भूमि आयोग सर्लाहीको अध्यक्षमा मनोनित राजकुमार राय यादब । (तस्बिर : सामाजिक संजाल)

हरिवन – भूमि आयोग सर्लाहीको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजकुमार राय यादव मनोनित भएका छन् ।

नेपाल सरकार भूमि व्यवस्था मन्त्रालयले ७७ वटै जिल्लामा मनोननय गरेको सूची अनुसार सर्लाहीमा भूमि आयोगको अध्यक्ष यादव भएका हुन् । अध्यक्ष सहित तीन सदस्यीय भूमि आयोग सर्लाहीको सदस्यमा संचिता घिमिरे उप्रेती र विज्ञ सदस्यको रुपमा सुरेश कुमार साह चयन भएका छन् ।

भूमि आयोग सर्लाहीको अध्यक्षमा चयन भएका यादव साबिक सलेमपुर तथा हाल हरिवन नगरपालिका निवासी हुन् । त्यस्तै सदस्य घिमिरे हरिवन नगरपालिका–८, नारायणचोक निवासी हुन् । घिमिरे नेकपा नेता राजकुमार उप्रेतीकी पत्नी समेत हुन् । उनी पनि ओली समूहमै सकृय हुन् । विज्ञ सदस्यका रुपमा मनाेनित साह भने मलंगवा निवासी हुन् । लामाे समय कांग्रेस राजनीतिमा सकृय साह केही समय पहिला नेकपामा प्रवेश गरेकाे बताईएकाे छ ।

आयोग सर्लाहीका अध्यक्षमा मनोनित यादवले अब जिम्मेवारी अनुसार चुस्त दुरुस्त रुपमा काम कारबाही अगाडी बढाईने जानकारी दिए । यादब पूर्व माओवादीका जिल्ला सचिब थिए । उनी तत्कालिन माओवादीका सुप्रिमो कमाण्डर प्रचण्डका अत्यन्त निकट थिए । २०७० सालको संविधान सभा सदस्यमा साविक क्षेत्र नं. २ मा संविधान सभा सदस्यका प्रत्यासी समेत रहेका यादव माओवादी द्वन्द्वकालमा शहिद परिवारका सदस्य समेत हुन् ।

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपामा देखिएको दुई कित्ता अन्तर्गत यादब नेकपा ओली समूहमा लागेका हुन् । पूर्व माओवादीका प्रभावशाली नेता रहेका यादबले खेमा परिवर्तन गरेर पूर्व एमालेको बाहुल्य रहेको प्रधानमन्त्री ओली समूहमा लागेपछि राम्रो पुरस्कार हात पार्न सफल भएका छन् । यसअघि नेकपाकै नेता एवं सभासद् हरि उप्रेती लगायत नेकपा नेताहरु भूमि आयोग सर्लाहीको अध्यक्षका दाबेदारको रुपमा हेरिएको थियो । उप्रेती पनि हाल नेकपा ओली समूहमै क्रियाशिल छन् ।

भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य नियुक्त गरेको हो । आयोगका पदाधिकारीको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ । ७७ वटै जिल्लाका अध्यक्ष र २ सदस्य गरी तीन जनालाई नै आगामी माघ २४ गते आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सपथ ग्रहण गराउने कार्यक्रम रहेको बताईएको छ ।

सरकारले तत्कालिन भूमि व्यवस्था मन्त्री पद्मा अर्यालकै पालामा बनेको सूचीमा केही हेरफेर गरि प्रचण्ड माधव नेपाल पक्षमा लागेकालाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ । भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्य प्रायः सबै सम्बन्धित जिल्लाका नेकपा नेताहरु रहेका छन् । आयोगका अध्यक्षले नेपाल सरकारको प्रथम श्रेणी सहसचिव सरहको र सदस्यले द्वितीय श्रेणी उपसचिव सरहको सेवा सुविधा पाउने बताईएको छ ।