सर्लाहीमा बागमतीबाट राष्ट्रिय परिचयपत्र विवरण भर्न सूरु

7
बागमती नगरपालिकाका मेयर थापालाई राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन सम्पन्न गरिएको लिखित पत्र हस्तान्तरण गर्दै प्रजिअ पौडेल (दायाँ) । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीमा बागमती नगरपालिकाबाट राष्ट्रिय परिचय पत्रका लागि बिवरण संकलनको काम सुरु गरिएको छ ।

हरेक नेपाली नागरिकताधारी नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने राष्ट्रव्यापी अभियान अन्तर्गत बिवरण संकलन सूरु गर्ने क्रममा सर्लाहीमा भने बागमती नगरपालिकाबाट संकलनको काम सूरु गरिएको हो । आईतबार दिउँसो बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको फोटो सहितको सम्पूर्ण विवरण संकलन गरेर अभियानको उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी पौडेलले मेयर थापालाई उनको विवरण संकलन भएको लिखित पत्र हस्तान्तरण गरेका थिए ।

प्रजिअ पौडेलका अनुसार बागमती नगरपालिकाका मेयर थापाको बिवरण संकलनसँगै एक साथ नगरपालिकाको १२ वटै वडाबाट बिवरण संकलन कार्य सुरु भएको छ । नगरपालिका कार्यालय परिसरमा वडा नं. ४, ११ र १२ को वडा कार्यालयबाट सम्बन्धित वडाबासीको विवरण संकलन सूरु भएको छ ।

त्यस्तै अन्य वडाका बासिन्दाले पनि सम्बन्धित वडा कार्यालयमा पुगेर विवरण संकलन गराउनु पर्नेछ । प्रजिअ पौडेल नेतृत्वको टोलीले आईतबार नै बागमती नगरपालिका वडा नं. १, ४, ११ र १२ मा विवरण संकलन कार्यको स्थलगत अनुगमन समेत गरेको छ ।

अब क्रमशः जिल्लाका २० वटै पालिकामा राष्ट्रिय परिचय पत्र बितरणको लागि बिवरण संकलन गरिने प्रजिअ पौडेलले जानकारी दिए । एक स्टेशनबाट दैनिक ४० जनाको बिवरण संकलन हुने गरी बागमती नगरपालिकाका सबै वडामा गरी एक साथ ३६ वटा बिवरण संकलन स्टेशन संचालन हुने जिल्ला प्रशासन कार्यालयकी राष्ट्रिय परिचयपत्र अभियान हेर्ने शाखा अधिकृत समिता पोखरेलले जानकारी दिईन् ।

आगामी २२ गतेबाट मलंगवा नगरपालिकामा पनि विवरण संकलन सूरु गरिने छ । बागमती नगरपालिकाको विवरण संकलन सकिएपछि त्यहाँ खटिएका कर्मचारीलाई छिमेकी पालिकामा खटाईने र साँढे महिना भित्र सर्लाहीका सम्पूर्ण पालिकामा पहिलो चरणको विवरण संकलन सक्ने लक्ष्य राखिएको प्रजिअ पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार हाल मुलुक बाहिर रहेका वा पहिलो चरणको बिवरण संकलनमा छुटेपनि पछि जिल्ला प्रशासन कार्यालय मलंगवा, ईलाका प्रशासन कार्यालयहरु र क्रमशः सबै पालिकाहरुमा स्थायी रुपमै विवरण संकलनका लागि टोली बस्ने छ । राष्ट्रिय परिचय पत्रमा नेपाली नागरिकका सम्पूर्ण पारिवारिक देखि सम्पति विवरणहरु जोडिने बताईएको छ । मालपोत कार्यालयमा जग्गा किनबेच गर्दा होस् वा अन्य कुनै व्यवसायको अनुमति लिँदा, सबारी लगायत खरिद बिक्री गर्दा, सरकारी सेवा सुविधाका लागि पनि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएकाले सबै नेपाली नागरिकता प्राप्त नागरिकहरुलाई बिवरण संकलन गराउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

विवरण संकलन अभियान सकेर सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसकेपछि भविष्यमा नेपाली नागरिकता प्रमाणपत्र विस्थापित गरेर राष्ट्रिय परिचय पत्रलाई लागू गर्ने बताईएको छ ।