बरहथवा नगरपालिकामा विद्यार्थीको धर्ना

2
आईतबार धर्नामा बसेका विद्यार्थीहरु । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – केही दिनअघि बरहथवा नगरपालिका कार्यालय र आफै अध्ययनरत विद्यालयमा समेत तोडफोड गरेका बरहथवा स्थित विद्यार्थीहरुको समूह आईतबाट धर्नामा बसेका छन् ।

बरहथवा बजार स्थित चक्र जनता सहिद गंगा माध्यमिक विद्यालयका विद्यार्थीहरु विभिन्न नौ सुत्रिय माग राखेर धर्नामा बसेका हुन् । गत शुक्रबार आक्रोशित विद्यार्थीहरुको समूहले नगरपालिका कार्यालय र विद्यालयमा तोडफो गरेका थिए ।

आफनो माग राख्न गत शुक्रबार नगरपालिकामा पुग्दा प्रहरीले दमन गरेकाले आइतबार बिहानैदेखि आफूहरुले नगरपालिका कार्यालय परिसरमा धर्ना सूरु गरिएको कक्षा ११ मा अध्ययनरत ललिता शर्माले जानकारी दिईन् । विद्यार्थीहरुको समूहले केहीबेर नगरपालिका र प्रहरी दमनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

विद्यालयमा नियमित पठनपाठन नभएको, अतिरिक्त क्रियाकलाप अन्तर्गत भ्रमण खर्च नदिएको र विद्यालयमा भौतिक संरचना व्यवस्थित नहुँदा पठनपाठनमा समस्या भएको भन्दै विद्यालय प्रशासन र नगरपालिकामा समेत ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको भन्दै विद्यार्थीहरु आक्रोशित बनेका हुन् । पटक पटक ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाई नगरेको विद्यार्थीहरूको गुनासो छ ।

माग सम्बोधन गर्नुको सट्टा उल्टै बरहथवा नगरपालिकाका मेयर देवानन्द महतो, प्रमुख प्रसाशकीय अधिकृत खिम बहादुर भुजेल र विद्यालयका प्रधानाध्यापक रामबहादुर राय यादवको निर्देशनमा प्रहरीले आफूहरुमाथि लाठिप्रहार गरेको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुले ‘प्रधानाध्यापकको दादागिरी बन्द गर’, ‘भ्रष्टाचारीलाई कार्वाही गर’, ‘नियमित पठनपाठन सुचारु गर’, ‘समयमै पुस्तक वितरण गर’ लगायत नारा लेखेको प्लेकार्डसहित धर्नामा बसेका हुन् ।

प्रधानाध्यापक, मेयर लगायतको दादागिरीका कारण आफूहरु धर्नामा बस्नुपरेको विद्यार्थी शर्माले बताइन् । यसअघि पनि समस्या राख्दा प्रधानाध्यापक रायले मान्छे बोलाएर कुटाउने भन्दै धम्की दिएका उनको दाबी छ ।

शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यालयले पुस्तक उपलब्ध नगराएको, विद्यालयमा नियमित पठनपाठन समेत नभएको भन्दै विद्यार्थीहरूले गत शुक्रबार नगरपालिका कार्यालय र विद्यालयमा तोडफोड गरेका थिए ।

विद्यार्थी समूहको आक्रमणबाट कार्यालयको झ्यालको सिसा, ढोका, बाहिर राखेको दराज, गमलाहरु लगायतमा क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भूजेलले जानकारी दिए । त्यस्तै नगरपालिका कार्यालय भित्रै रहेको बा.२ च ९३३७ नम्बरको कार पनि तोडफोड गरेका छन् । उक्त कार नगरपालिकाका प्रशासन फाँट प्रमुख कमलप्रसाद पौडेलको हो ।

प्रधानाध्यापक रामबहादुर राय यादवले विद्यार्थीको नाममा घुसपैठ भएको आरोप लगाएका छन् । विद्यार्थीको माग सम्बोधन गर्ने तयारी भइरहँदा केही व्यक्तिले आफ्नो स्वार्थ पूरा गर्न विद्यार्थीलाई उचालेको उनको आरोप छ ।

तर इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट भने विद्यार्थीमाथि दमन नगरिएको दाबी गर्छन् । विद्यार्थीको भीड उत्तेजित भएर सार्वजनिक सम्पति तोडफोड गर्न थालेपछि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिईएको प्रनाउ भाटको दाबी थियो ।