थला परेका भूजेललाई लायन्सले दियो ह्वील चेयर

6
ह्वील चियरमा बसेका भूजेलका साथमा लायन्स क्लब अफ लालबन्दी सीटीका पदाधिकारीहरु । (तस्बिर : सामाजिक संजाल)

ईश्वरपुर – चार वर्षदेखि थला परिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका–४ निवासी लालबाबु भूजेललाई शनिबार ह्वील चेयर प्रदान गरिएको छ ।

लायन्स क्लब अफ लालबन्दी सीटीले भूजेललाई एक थान ह्वील चेयर उपलब्ध गराएको हो । शनिबार बिहान भूजेलको घरमै पुगेर ह्वील चेयर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले जानकारी दिए । क्लबले यसअघि लालबन्दी नगरपालिकाभित्रका अशक्त, अपांगता भएका व्यक्तिलाई यस्ता सामाग्री प्रदान गर्दै आएको भएपनि ईश्वरपुरमा भने पहिलो पटक वितरण गरेको हो ।

आर्थिक अवस्था नाजुक रहेकाले भूजेलका छोराछोरीलाई कापी र कलम किन्न ईश्वरपुरका व्यवसायी एंव समाजसेवी रुस्तम मिकरानीले शनिबार नै २ हजार रुपैयाँ नगद समेत प्रदान गरेका छन् । लायन्स क्लबले ह्वील चियर प्रदान गरेपछि चार वर्षदेखि थला परिरहेका भूजेलले निकै हर्षोल्लास व्यक्त गरेका छन् । परिवारका सदस्य समेत निकै खुशी देखिएको लायन्सका पदाधिकारीले बताए ।