बरहथवा नगरपालिका कार्यालयमा विद्यार्थीद्वारा तोडफोड, प्रहरीको लाठिचार्जबाट विद्यार्थी घाईते

8
नगरपालिका कार्यालयमा पुगेको विद्यार्थीहरुको भिड । (तस्बिर : उज्यालो अभियान)

बरहथवा – विद्यार्थीहरुको समूहले बरहथवा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् ।

तोडफोडमा उत्रिएका विद्यार्थीलाई प्रहरीले लाठीचार्ज गरेर तितरवितर पारेको छ । प्रहरीको लाठिचार्जबाट आधा दर्जन विद्यार्थी घाईते भएका छन् । एकजना विद्यार्थीको खुट्टा तथा अर्का एकजनाको हात भाँच्चिएको विद्यार्थीहरुले दाबी गरेका छन् ।

चक्रजनता सहिद गंगा मावि बरहथवाका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरेका हुन् । विद्यालयमा नियमित अध्यापन नभएको, डेस्कबेञ्च लगायत भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिईएको भन्दै आक्रोशित विद्यार्थीहरुको समूहले नगरपालिका कार्यालयमा ढुंगामुढा सहित तोडफोड गरेका हुन् ।

विद्यार्थी समूहको आक्रमणबाट कार्यालयको झ्यालको सिसा, ढोका, बाहिर राखेको दराज, गमलाहरु लगायतमा क्षति पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खीमबहादुर भूजेलले जानकारी दिए । त्यस्तै नगरपालिका काार्यलय भित्रै रहेको बा.२ च ९३३७ नम्बरको कार पनि तोडफोड गरेका छन् । उक्त कार नगरपालिकाका प्रशासन फाँट प्रमुख कमलप्रसाद पौडेलको हो ।

विद्यालयका प्रधानाध्यापक रामबहादुर रायलाई पटक–पटक माग राखेपनि पूरा नभएको र वडाध्यक्ष संजय गुप्तालाई समेत जानकारी गराउँदा समेत मागका विषयमा कुनै सुनवाई नभएपछि आफूहरु आक्रोशित भएको कक्षा ११ मा अध्ययनरत विवेक गुप्ताले बताए । विद्यार्थीहरुले शैक्षिक भ्रमणका लागि समेत विद्यालय व्यवस्थापनसँग १ लाख २० हजार रुपैंया माग गरेका थिए । वडाध्यक्ष गुप्ताले ६० हजार रुपैंया मात्र दिने बताएपछि विद्यार्थीहरु थप आक्रोशित भएको बताईएको छ । विद्यालयका प्रअ रायले आफूहरुलाई कुटाउने धम्की समेत दिएको विद्यार्थी गुप्ताले बताए ।

ईलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक उद्यवसिंह भाँटले नगरपालिका कार्यालयमा तोडफोड गरेपछि विद्यार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तितरबितर पारिएको जानकारी दिए ।