कांग्रेस हरिवनले आज गर्यो अगुवा कार्यकर्ता भेला, भोली शेखर कोइराला आउँदै

6
भेलालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एनपी साउद तथा उपस्थित नेतागण । (तस्बिर : उज्यालो अभियान)
भेलामा उपस्थित कांग्रेस कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिले विहिबार अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।

हरिवन स्थित सम्राट होटलको पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री एनपी साउद, पूर्व मन्त्री गोविन्द बहादुर शाह लगायतले सम्बोधन गरेका छन् । नेताहरुले अबको चुनाबबाट कांग्रेस मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै त्यस अनुसार तयारीमा रहन कार्यकर्तालाई आग्रह गरे । लोकतान्त्रिक पार्टी भएकाले कांग्रेसले सम्मानित सर्बोच्च अदालतले गरेको फैसलालाई मान्ने समेत नेताहरुले बताएका छन् ।

अर्जुन योञ्जनको सञ्चालन एवं नेता रामवली रायको अध्यक्षता रहेको कार्यक्रममा पूर्व जिल्ला सभापति लक्ष्मण राय, महेन्द्र साह, पूर्व उपसभापति विनोद खनाल, पूर्व सांसद् हरेस महतो, नेता रामप्रसाद मैनाली, जिल्ला सहसचिव डोरप्रसाद भट्टराई, क्षेत्रीय सभापति पुण्यहरि घिमिरे, प्रदेश क्षेत्र नम्बर ३ ख का प्रत्यासी कृष्णदेव राय, नेपाल महिला संघकी केन्द्रीय सदस्य यशोदा चालिसे लगायतले मन्तव्य राखेका थिए । हरिवन नगर समितिका सभापति रामशरण उप्रेतीले स्वागत गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेका छन् । नव प्रवेशीलाई कार्यक्रमका प्रमुख अतिथि साउद, विशिष्ट अतिथि शाह लगायत अबिर र माला लगाएर स्वागत गरेका थिए ।

यसैबीच शुक्रबार हरिवनमा हुने बृहद् आमसभालाई सम्बोधन गर्न कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला आउँदै छन् । कोईरालाको नेतृत्वमा आधा दर्जन केन्द्रीय सदस्यहरु, महिला नेतृहरु लगायतले सभालाई सम्बोधन गर्ने कांग्रेस सर्लाहीका नेता विनोद खनालले जानकारी दिए । दुई दिनसम्म सर्लाहीमै बस्ने कोईरालाले शनिबार हरिवनमै हुने महिला नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गर्नेछन् ।