अन्नपूर्ण चिनी उद्योगका मालिक अग्रवाललाई सर्लाही ल्याईयो, ठगीमा मुद्धा चलाईने

पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)
केही वर्षअघि सरकारले पक्राउ गरेपछि बिरामी भन्दै नर्भिक अस्पतालको बेडमा उपचाररत अवस्थामा राकेश अग्रवाल (बीचमा) ।

मलंगवा – काठमाडौंमा पक्राउ परेका सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक राकेश अग्रवाललाई आवश्यक कार्बाहीका लागि सर्लाही ल्याईएको छ ।

बुधबार साँझ त्रिपुरेश्वरस्थित आफ्नै घरबाट पक्राउ परेका अग्रवाललाई विहिबार साँझ सर्लाही ल्याईएको छ । अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौं प्रहरीले सर्लाही प्रहरीको जिम्मा लगाएको हो ।

अग्रवाल विरुद्ध सर्लाहीका ३१ जना किसानले वर्षौंदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । ‘अहिलेसम्म ३१ जना किसानले लिखित उजुरी दिनु भएको छ’, प्रहरी उपरीक्षक राठौरले विहिबार साँझ उज्यालो अभियानसँग भने, ‘अग्रवाल विरुद्ध ठगी, अपराधिक विश्वासघात र अपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रकृया अगाडी बढाईने छ ।’

विहिबार साँझ मात्र जिल्ला ल्याईएकाले अग्रवाललाई शुक्रबार जिल्ला अदालतबाट म्याद लिएर कार्बाही प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ । अग्रवाललाई सर्लांही ल्याएको थाहा भएपछि अझै सयौं किसानले उजुरी दिने सम्भावना रहेको प्रहरी उपरीक्षक राठौरले बताए ।

उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो । जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भईसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौं उखु किसानको वर्षौंदेखिको भुक्तानी बाँकी राखेको छ ।

उद्योगले उपलब्ध गराएको तथ्यांक अनुसार त्यति देखिएपनि किसानहरुले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘यति धेरै रकम भुक्तानी गरिसकेपनि भुक्तानी पाएनौं भन्ने किसानहरुको लाईन लागिरहेको छ’, प्रजिअ पौडेलले भने । जिल्ला प्रशासन कार्यालयले अग्रवालको बैंक खाता रोक्का राखेर उद्योगको गोदाममा रहेको बाँकी चिनी आफैले बेचेर र अग्रवालले हालेको रकमबाट १२ करोड भन्दा बढी रकम किसानलाई भुक्तानी गरिएको थियो ।

त्यस क्षेत्रका उखु किसानहरु गत वर्ष र यसवर्ष पुसमा आन्दोलन गर्न काठमाडौं नै पुगेका थिए । माईतिघर मण्डलामा निरन्तर प्रदर्शन गरेपछि सरकारले चिनी उद्योगीबाट उखु किसानलाई तिर्न बाँकी बक्यौता भुक्तानी २१ दिनभित्र दिलाई दिने भन्दै पुष १३ गते सम्झौता गरेको थियो ।

किसानसँग भुक्तानी दिलाउनको लागि सम्झौतामा तोकिएको मिति कटिसक्दा पनि उद्योगीबाट सरकारले किसानलाई सबै रकम भुक्तानी दिलाउन नसकेपछि गृह मन्त्रालयले भुक्तानी बाँकी राख्ने उद्योगपतिलाई पक्राउ गर्न सूरु गरेको हो । सर्लाहीमा सञ्चालित तिन चिनी मिलमध्ये हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग र बगदह स्थित महालक्ष्मी सुगर मिलले भने किसानको भुक्तानी गरिसकेका छन् । ईन्दुशंकरले नियमित सेडुलमै भुक्तानी गरेको थियो भने महालक्ष्मीले गत कात्तिकमा भुक्तानी सकेको बताईएको छ । वषौंदेखिको भुक्तानी नदिएका कारण अन्नपूर्णलाई अघिल्लो वर्षदेखि नै किसानले उखु दिएका छैनन् ।

उद्योगपति अग्रवाललाई यसअघि पनि सरकारले पक्राउ गरेको थियो । तर बिरामीको भन्दै अस्पतालमा उपचार गराउने बहानमा उनी उम्किएका थिए ।