सर्लाहीमा पनि लगाए जिल्ला अस्पतालका प्रमुख, वकिल र स्वास्थ्यकर्मी लगायतले कोरोना खोप

6
बुधबार खोप अभियान उद्घाटनका अवसरमा खोप लगाउदै जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह ।

मलंगवा – सर्लाही अस्पतालका प्रमुख डा. संजिव सिंह सहित स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् ।

बुधबार बिहान मलंगवा स्थित जिल्ला अस्पताल परिसरमा खोप लगाउन सूरु गरिएको हो । जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. संजिव सिंह, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख न्यायाधिवक्ता केशव गौतम, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक श्रवण कुमार नायकलाई खोप लगाएर कार्यक्रम उद्घाटन गरिएको हो । त्यस्तै चौथोमा प्रहरी हबल्दार राजीब साह जयसवाल र पाचौंमा ट्राफिक प्रहरी हबल्दार राजीव कुमार सिंहले पनि उक्त खोप लगाएका छन् ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने छ । प्रजिअ पौडेलका अनुसार सर्लाहीमा ५ हजार ३०० डोज खोप आएको छ । खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्नेछ । अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो । तथापी ५ हजार ३०० डोजमात्र प्राप्त भएको छ ।

पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने छ । भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप नेपालमा बुधबारबाट मुलुकभर लगाउन सूरु गरिएको हो । उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको छ ।