पत्रकार महासंघ सर्लाहीको साधारण सभा सम्पन्न

11
उद्घाटन समारोहमा उपस्थित अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १० औं साधारण सभा सम्पन्न भएको छ । शनिबार साँझ सदरमुकाम मलंगवा स्थित जानकी पार्टी प्यालेसमा साधारण सभा सम्पन्न भएको हो ।

महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षता एवं महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यता रहेको सभामा महासंघमा वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल, सचिव शितल महतो, कोषाध्यक्ष राजेश मिश्र, प्रदेश दुई अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश कमिटी सदस्य सिकिन्द्र पासवान, अजित सिंह, रौतहट महासंघ अध्यक्ष रविन्द्र साह लगायतको आतिथ्यता रहेको थियो । त्यस्तै विघटित प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्यद्वय अशोककुमार यादव, संजयकुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, मलंगवाका मेयर निरसल साह, गोडैताका मेयर देवेन्द्र यादव, बसबरिया गापाका अध्यक्ष रामअयोध्या राय यादव, मलंगवाकी उपमेयर शान्ति भन्ने शवनम मिकरानी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली कांग्रेसका नेता एवं सर्लाही क्याम्पसका पूर्व प्रमुख कृष्णदेव यादव, नागरिक समाजका अगूवाहरु रजनिकान्त झा, उग्रकान्त झा, शिवचन्द्र चौधरी, नेपाल प्रहरीका उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपरीक्षक दिलिप सिंह लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा महिला नेतृ एवं अधिकारकर्मीहरु भवानी कोईराला, रम्भा झा लगायतको पनि आतिथ्यता रहेको थियो ।

महासंघ सर्लाहीका सचिव श्रवण थापाको सञ्चालन रहेको उद्घाटन समारोहमा उपाध्यक्ष बख्तियार अलिले स्वागत गरेका थिए भने समारोहमै महासंघ सर्लाहीका संस्थापक अध्यक्ष चूडामणि वाग्ले सहित पूर्व अध्यक्षहरु बेनीबहादुर कार्की, शंकर श्रेष्ठ, कृष्ण एस्माली, रोशन न्यौपाने र अमन कोइरालालाई कदर पत्र र दोसल्ला सहित सम्मान गरिएको छ । महासंघ सर्लाहीलाई यहाँसम्म ल्याउन अमुल्य योगदान गरेको भन्दै पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको वर्तमान अध्यक्ष विश्वनाथ ठाकुरले जानकारी दिए । पूर्व अध्यक्ष बेनीबहादुर कार्की भने कार्यक्रममा उपस्थित नभएकाले उनको कदरपत्र र दोसल्ला रेडियो एकताका स्टेशन म्यानेजर प्रकाश मैनालीले बुझेका थिए ।

त्यस्तै बन्दशत्रमा महासंघ सर्लाहीका अध्यक्ष ठाकुर, कोषाध्यक्ष रामगोविन्द यादव, सचिव श्रवण थापा लगायतले प्रगति, आर्थिक र सांगठनिक प्रतिवेदन संक्षिप्त रुपमा प्रस्तुत गरेका थिए । प्रतिवेदन माथि प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्णप्रसाद थपलिया, प्रेस संगठनका अध्यक्ष अच्युतकुमार सापकोटा, पत्रकारहरु रामबाबु खड्का, डुकु काेइराला, राकेश गुप्ता लगायतले प्रश्न उठाएका थिए । बन्दशत्रमा भने केन्द्रीय सचिव शितल महतो, प्रदेश दुई अध्यक्ष दिपेन्द्र चौहान, प्रदेश सदस्य सिकिन्द्र पासवान, प्रदेश सदस्य अजितकुमार सिंह, सर्लाहीका पूर्व अध्यक्षहरु लगायतले सहजीकरण गरेका थिए ।

चैतमा महासंघ केन्द्र, प्रदेश र जिल्ला नेतृत्व चयनका लागि एकै दिन मतदान हुदैछ ।