भुक्तानीमा ढिलाई भएपछि उखु किसान पुनः आन्दोलनमा

8

हरिवन – सरकारसँग भएको सम्झौताअनुसार बक्यौता रकम नपाएपछि सर्लाहीका उखु किसानले फेरि आन्दोलन घोषणा गरेका छन् ।

उखु किसानले आज शुक्रबारदेखि फागुन सात गतेसम्म जागरण अभियान, फागुन आठ गतेदेखि १४ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गर्ने र फागुन १४ गतेदेखि २१ गतेसम्म एक छाकमात्र खाएर खेतमा काम गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसपछि पनि माग पूरा नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिले जनाएको छ ।

विहिबार उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र कृषक रामविकास पण्डितले संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ति प्रकाशित गर्दै पुनः आन्दोलनको घोषणा गरेका हुन् । चिनी उद्योगबाट उखुको बक्यौता नपाएपछि संघर्ष समितिको अगुवाईमा काठमाडौंमा आन्दोलन गरेका किसानले गत पुस १३ गते सरकारसँग सम्झौता गरेका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माघ ५ गतेभित्र सम्पूर्ण बाँकी बक्यौता किसानलाई उद्योगबाट भुक्तानी गराईसक्ने सम्झौता भएपनि अझै निकै किसानको खातामा रकम जम्मा नभएकाले दोस्रो चरणको आन्दोलन घोषणा गरिएको संघर्ष समितिका अध्यक्ष रायले उज्यालो अभियानलाई बताए ।

२१ दिनभित्र सबै बक्यौता उपलब्ध गराउने सम्झौता भएपछि आन्दोलनरत किसानहरु जिल्ला फर्किएका थिए । तर २१ दिने समयसीमाभित्र सबै बक्यौता भुक्तानी नभएपछि फेरि आन्दोलन घोषणा गर्नु परेको अध्यक्ष रायले गुनासो गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानले पाउनुपर्ने ६५ करोड रुपैयाँमध्ये ५७ करोड भुक्तानी भएको र आठ करोड मात्रै बाँकी रहेको मौखिक जानकारी दिएपनि कुन किसानले कति रकम पाए र कसको बाँकी छ भन्ने विवरण मन्त्रालयले नदिएकाले उद्योगीले गरेको भनिएको भुक्तानी पनि विश्वसनीय नभएको संघर्ष समिति अध्यक्ष रायको भनाई छ ।