बागमतीद्वारा मानव आश्रममा न्यानो सामग्री

8
आश्रममा न्यानो सामग्री हस्तान्तरण कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

नयाँरोड – बागमती सेवा समाज नेपाल हरिवनले मानव सेवा आश्रम नयाँरोडमा विभिन्न न्यानोयुक्त सामग्री प्रदान गरेको छ ।

हरिवन नगरपालिका–९, नयाँरोड स्थित आश्रममै पुगेर शुक्रबार दिउँसो संस्थाका अध्यक्ष भरतकुमार कार्कीको नेतृत्वमा न्यानोयुक्त सामग्री हस्तान्तरण गरिएको हो । आश्रममा आश्रीतहरुका लागि १९ थान ब्लांकेट, १९ थान ओछ्याउने म्याट, ७६ थान टोपी, ३८ थान मोजा, ३८ थान पञ्जा प्रदान गरिएको बागमतीका अध्यक्ष कार्कीले जानकारी दिए ।

आश्रममा आश्रीतहरुका लागि चिसोबाट बच्नका लागि थोरै भएपनि राहत पुगोस् भनेर न्यानोयुक्त सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ । उक्त सामग्री आश्रमका अभिभावक हरिवन नगरपालिका ११ का वडासदस्य सुकदेव कार्कीलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा संस्थाका अन्य पदाधिकारी, कर्मचारी, महिला नेतृहरु लगायतको उपस्थिती रहेको थियो ।

मानव सेवा आश्रम नेपाल हेटौंडाले सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका अभिभावक विहिन, बेसहारा, अशक्त, ‘सडक मानव’ लगायतलाई आश्रय दिनका लागि प्रदेश दुईकै सबैभन्दा ठूलो आश्रम सञ्चालनमा ल्याएको हो । आश्रममा हाल विभिन्न जिल्लाका ६० जना भन्दा बढी आश्रीत छन् ।