हरिवनको मानव आश्रमलाई धनकौलको सहयोग

4
नयाँरोड स्थित सञ्चालनमा ल्याईएको आश्रम भवन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सडक मानवको उद्धारका लागि सर्लाहीको हरिवन नगरपालिकामा सञ्चालनमा रहेको मानव सेवा आश्रममा आर्थिक सहयोग प्राप्त भएको छ ।

प्रदेश नम्बर दुईकै ठूलो मानव सेवा आश्रम स्थापना भएदेखि यसलाई स्थायित्व दिनका लागि सर्लाहीका पालिकाहरुले समेत सहयोग गर्न थालेका छन् । यसैक्रममा धनकौल गाँउपालिकाका अध्यक्ष रामआश्रय साहले बुधबार आश्रममा २५ हजार रुपैंयाको चेक हस्तारन्तरण गरेका छन् ।

यसरी विभिन्न व्यक्तिहरुको सहयोगबाट आश्रम सञ्चालनमा थप हौसला मिलेको मानव सेवा आश्रमका अभिभावक सुकदेव कार्कीले जानकारी दिए । हाल आश्रममा अशक्त, बेसहारा, अभिभावकविहिन, मानसिक समस्याका विरामी एवं सडकमा मागेर हिँडने ‘सडक मानव’ गरेर करिव ६३ जनालाई उद्धार गरी आश्रय दिएर राखिएको कार्कीले बताए ।

मासिक ४२ हजार रुपैंया भाडा तिर्नेगरी घर भाडामा लिएर आश्रम सञ्चालनमा रहेको छ । आश्रम सञ्चालनका लागि हरिवन नगरपालिकाले पनि यथाशक्य सहयोग गरिरहेको छ । आश्रममा पूर्व सप्तरीदेखि रौतहटसम्मका सडक मानव सहित अभिभावक विहिन, बेसहारा, अशक्त लगायतलाई आश्रय दिईएको छ ।