सर्लाही बस दुर्घटना अपडेट : हरिवनमा उपचाररत सबै घाईते घर गए

3
विहिबार बिहान भएको रात्री बस दुर्घटनामा घाईते भई स्वाभिमान अस्पताल हरिवनमा उपचाररतहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिकामा विहिबार बिहान रात्री बस पल्टिँदा घाईते भई हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचाररत सबै घाईतेहरु उपचार पश्चात घरतर्फ फर्किएका छन् ।

हरिवन स्थित स्वाभिमान अस्पताल र नमूना अस्पतालमा उपचाररत १२ जना सामान्य घाईतेहरु उपचार पश्चात घर गएको प्रहरीले जनाएको छ । विहिबार दिउँसो सबै घाईतेहरु उपचार पश्चात घर गईसकेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । दुईजना यात्रुको मृत्यु भएको छ भने चालक सहित १७ जना घाईते भएका छन् ।

दाङबाट काँकडभिट्टा जाँदै गरेको ना. ५ ख ४४८८ नम्बरको रात्री बस सडकबाट तल पल्टिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दाङको राप्ती गाउँपालिका–५ की ३६ वर्षीया राजकुमारी चौधरी र सोही स्थानकी २३ वर्षीया निर्मला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजकुमारीको घटनास्थलमै तथा निर्मलाको उपचारका लागि वीरगंजतर्फ लैंजादै गर्दा मृत्यु भएको हो ।

बसमा सबार भई दुर्घटना पश्चात घाईतेका अनुसार विहिबार बिहान ४ बजेर ४ मिनेटमा हरिवन नगरपालिका–११ सशस्त्र प्रहरी बलको बेसक्याम्प नजिक उक्त बस पल्टिएको हो । पूर्व–पश्चिम राजमार्गमा अर्को सबारी साधनलाई उछिन्न खोज्दा बस अनियन्त्रित भई पल्टिएको थियो ।

स्वाभिमानमा उपचाररत घाईतेहरुमा दाङ राप्ती गापा–७ निवासी ४५ वर्षीया आशा चौधरी, २९ वर्षीया सुमित्रा चौधरी, सुमित्राका ५ वर्षीय छोरा शोरम चौधरी, ३१ वर्षीय लक्ष्मी नारायण चौधरी, राप्ती गापा–३ निवासी २० वर्षीया अमृता चौधरी, २२ वर्षीया पुष्पा चौधरी, दाङ निवासी ४९ वर्षीय अजयबहादुर पुन, १८ वर्षीय मितेश चौधरी, रुपन्देहीका ३० वर्षीय सन्तोष पाण्डे, काठमाडौंका ३७ वर्षीय सन्तोष नकर्मी रहेका छन् । रोल्पाकी ३५ वर्षीया सेतु रोका र २२ वर्षीय अर्जुन कुमार रोकाको भने नमूना अस्पतालमा उपचार भएको थियो । विहिबार दिउँसोसम्म सबै घाईतेहरु उपचार पश्चात घर गएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

त्यस्तै चालक सहित ५ जना गम्भिर घाईतेलाई विहिबार बिहानै थप उपचारका लागि वीरगंजतर्फ पठाईएको थियो । जसमध्ये दुईजना थप उपचारका लागि काठमाडौं गएको जानकारी आएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भिर घाईतेहरु बस चालक रुपन्देही बुटवलका ३५ वर्षीय अर्जुन ज्ञवाली, बस सहचालक रुपन्देही लुम्बिनी निवासी २३ वर्षीय किशोर सुबेदी, दाङ राप्तीकी २३ वर्षीया रिता चौधरी, महोत्तरीका ३५ बर्षीया बसन्त कुमार ठाकुर र बाराकी ३० वर्षीया सरिता चौधरीलाई थप उपचारका लागि वीरगंज पठाईएको थियो ।

३० जना सबार रात्री बस सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुका अनुसार बस अत्यन्त तिब्र गतिमा थियो । दुर्घटना हुने अघि पनि पटक–पटक अन्य सबारी साधनलाई उछिन्ने क्रममा आफूहरु त्रसित बनेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचाररत दाङ घोराहीका अजयबहादुर पुनले जानकारी दिए ।