सर्लाहीका उखु किसानको अवस्था : कतै रुवाबासी त कतै खुशियाली

3
ईन्दुशंकर चिनी उद्योगको यार्डमा किसानले ल्याएको उखु बोकेका टायरगाडाको लाम । (तस्बिर : उज्यालो अभियान)

टंक क्षेत्री/हरिवन – जिल्लाकै दक्षिणी क्षेत्र स्थित उखु किसानहरु वर्षौंदेखि उखुको भुक्तानी नपाएर छट्पटाईरहेका छन् । गतवर्षदेखि पुष माघको ठिहीमा समेत काठमाडौंसम्म पुगेर पटक–पटक आन्दोलन नै गर्दै आईरहेका छन् ।

गोडैता नगरपालिकाको बगदह स्थित महालक्ष्मी सुगर मिलले त गत मंसिर भित्र सबै किसानको भुक्तानी सकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । धनकौल स्थित अन्नपूर्ण सुगर मिललाई उखु दिएका कतिपय किसानले भने अझैपनि विगत ४ वर्षदेखिको भुक्तानी पाएका छैनन् ।

तर हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगले भने चालू सिजनकै भुक्तानी सूरु गरिसकेको छ । ईन्दुशंकर चिनी उद्योगले भुक्तानी सूरु गरेपछि उतरी एवं मध्य दक्षिणी क्षेत्रका किसानमा भने खुशियाली छाउन थालेको छ । एउटै जिल्लाको उखु किसानहरु मध्ये चिनी उद्योगले गर्ने भुक्तानीका कारण कतिपय किसानको रुवाबासी चलिरहेको छ भने कतिपय किसानमा खुशियाली छाईरहेको छ । खासगरी नगदे बालीको रुपमा उखु खेती गरेर स्थानीय अन्नपूर्ण चिनी उद्योगमा विक्री गरेका सूदुर दक्षिणपश्चिम क्षेत्रका सयौं किसान वर्षौंदेखिको भुक्तानी नपाउँदा उधारो हुँदै चुर्लुम्म ऋणमा डुबेका छन् ।

गत वर्ष तथा यसवर्ष पनि पुसको चिसोमा उखुको भुक्तानीका लागि काठमाडौंमा आन्दोलनको नेतृत्व गरेको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र कृषक रामविकास पण्डितले विहिबार नै एक प्रेस विज्ञप्ति प्रकाशित गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । गत पुस १३ गते काठमाडौंमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माघ ५ गतेभित्र सम्पूर्ण बाँकी बक्यौता किसानलाई उद्योगबाट भुक्तानी गराईसक्ने सम्झौता भएपनि अझै निकै किसानको खातामा रकम जम्मा नभएकाले दोस्रो चरणको आन्दोलन घोषणा गरिएको संघर्ष समितिका अध्यक्ष रायले उज्यालो अभियानलाई बताए ।

सरकारले उखुको मुल्य तय गरि नसकेकाले गत वर्षकै मुल्यलाई आधार मानेर किसानको बैंक खातामा भुक्तानी गर्न थालिएको ईन्दुशंकरका वरिष्ठ प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए । गत पुष ६ गतेबाट संञ्चालनमा आएको ईन्दुशंकरले पुस २९ गतेसम्म किसानले ल्याएको उखुको भुक्तानी तालिका सार्वजनिक गरिसकेको छ ।

‘पुस २९ गतेसम्म किसानले ल्याएको उखुको भुक्तानी माघ १६ गतेसम्म बैंक खातामा जम्मा हुने गरी दोस्रो तालिका सार्वजनिक गरिसकेका छौं’, नेपालले भने, ‘तत्काललाई प्रति क्वीन्टल ४७१ रुपैंया २८ पैसाका दरले किसानको खातामा रकम जम्मा गरिएको र पछि सरकारले मुल्य तोके अनुसार थपघट गर्ने छौं ।’

उद्योगले हालसम्म किसानलाई २० करोड रुपैंया भुक्तानी गरि नै सकेको छ । उद्योगले विहिबारबाट फेरि १२ करोड रुपैंयाको दोस्रो भुक्तानी तालिका प्रकाशित गरेको छ । ‘अहिलेसम्म किसानको खातामा २० करोड रुपैंया जम्मा गरिसकेका छौं, आजबाट फेरि १२ करोड रुपैंयाको दोस्रो भुक्तानी तालिका निकालेका छौं, यो तालिका अनुसार पुस २९ गतेसम्म उखु दिएका किसानले भुक्तानी पाउने छन्’, उद्योगका उखु प्रबन्धक योगनारायण रजकले विहिबार उज्यालो अभियानसँग भने, ‘माघ १६ गतेसम्म दैनिक डेढ करोडको दरले किसानको खातामा उद्योगको खाताबाट रकम जम्मा हुन्छ ।’

विहिबारसम्म उद्योगले सबा ८ लाख क्वीन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योग संचालनमा आएयता १५ देखि ४५ दिनभित्र किसानलाई भुक्तानी गर्दै आएको ईन्दुशंकरले गत विगत वर्षमा भने किसानको बैंक खातामा रकम हाल्न केही ढिलाई गरेको थियो । यसवर्ष भने बढीमा २० दिन भित्र किसानको खातामा रकम जम्मा हुने गरी उद्योगले भुक्तानी तालिका सार्वजनिक गर्दै आएका छन् ।

नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनी मैनालीले मुलुकभरका अन्य चिनी उद्योगको तुलनामा हरिवन स्थित ईन्दुशंकरको भुक्तानी प्रकृया राम्रो रहेको बताए । ‘किसानलाई भुक्तानी गर्ने सबालमा मुलुकभरका अन्य चिनी उद्योगको तुलनामा एकादुई वर्ष बाहेक पहिला देखि नै ईन्दुशंरले प्रशंसा कमाउँदै आएको छ’, मैनालीले भने, ‘बरु सरकारले नै समयमै अनुदान रकम नदिने गर्दा किसान आजित बनिरहेका छन् ।

उखु किसानको रकम भुक्तानीका लागि मुलुकमै प्रशंसा कमाएको ईन्दुशंकरमा उखु दिनका लागि दक्षिणी क्षेत्रका किसानहरुको मारामार हुने गरेको छ । अन्य चिनी उद्योगको मिलगेट क्षेत्र तथा बाहिरी जिल्लाका उद्योगले राखेको संकलन केन्द्रका कारण दक्षिणी क्षेत्रबाट सोचे जति उखु ल्याउन नसकिने ईन्दुशंकरले जनाएको छ ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ २० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । ईन्दुशंकर, अन्नपूर्ण र महालक्ष्मी सहित तीनवटा चिनी उद्योग रहेको सर्लाहीका दक्षिणी क्षेत्रका किसानले गत र यस वर्ष भने अन्नपूर्णलाई उखु दिएनन् । वर्षौंदेखिको भुक्तानी नदिएपछि किसानले अन्नपूर्णलाई उखु नदिएका हुन् ।