चिसो बढेपछि विद्यालय बन्द

2
चिसो छल्न आगो बालेर ताप्दै गरेका लालबन्दी नगरपालिका–९, बस्तीपुरका डोम समुदाय । (फाईल तस्बिर : उज्यालो अभियान)

हरिवन – बढ्दो चिसोले विद्यार्थीहरुलाई विद्यालय आउन जान र पठनपाठन गराउनै मुश्किल परेपछि सर्लाहीको अधिकांश पालिकाले विद्यालयहरु बन्द गरेका छन् ।

एक सातादेखि निरन्तर बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो हुँदा पठनपाठन कार्यमा कठिनाई उत्पन्न भएको भन्दै नगरपालिका तथा गाउँपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गरेका हुन् । सबै पालिकामा फरक फरक मितिका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको पालिकाहरुले सूचना जारी गरी जानकारी गराएका छन् ।

चिसो बढेपछि जिल्लाका लालबन्दी, हरिवन, हरिपुर, मलगंवा लगायत अधिकांश पालिकाहरुले विद्यार्थीलाई पठनपाठनमा गाह्रो भएको भन्दै सार्बजनिक बिदा दिएका हुन् । अरु बेला यो समयमा जाडो विदा दिने गरिएपनि यो वर्ष कोरोना भाईरसको संक्रमणले गर्दा लामो समय विद्यालय बन्द गरिएकाले केही पालिकामा भने धमाधम पठनपाठन सञ्चालन भैरहेको छ ।

गत सोमबार दिनभर घाम लागेपनि अघिल्लो आईतबार यता जिल्लामा हुस्सु कुहिरो सहित चिसो बढेकाले सर्बसाधारणको जनजिवन अत्यन्त कष्टकर बनिरहेको छ ।