अन्नपूर्णका चिनी उद्योगका मालिक फेरि फरार !

6
पश्चिम धनकौल स्थित अन्नपूर्ण चिनी उद्योग । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको धनकौल गाउँपालिका स्थित अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल सम्पर्क विहिन भएको जिल्ला प्रशासन कार्यालय मलंगवाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले अन्नपूर्णका सञ्चालक अग्रवाल केही दिनयता आफूहरुको सम्पर्कमा नरहेको जानकारी दिए । ‘केही दिनयता अन्नपूर्णका सञ्चालक राकेश अग्रवालजी हाम्रो सम्पर्कमा हुनुहन्न’, प्रजिअ पौडेलले बुधबार उज्यालो अभियानसँग भने, ‘किसानको बक्यौता दिनका लागि हाँमीले रोक्का गरेको खातामा रकम भएपनि उहाँ सम्पर्कमा नरहेका कारण भुक्तानी हुन सकेको छैन ।’

प्रजिअ पौडेलका अनुसार उद्योगले दिएको जानकारीका आधारमा किसानको झण्डै १७ करोड पूरानो बक्यौता तिर्न बाँकी रहेको थियो । ‘उद्योगले किसानको भुक्तानी दिन १७ करोड रुपैंया हाराहारी बाँकी रहेको बताएको थियो’, प्रजिअ पौडेलले भने, ‘सोही अनुसार हाँमीले कार्बाही प्रकृया अगाडी बढायौं, यसबीचमा ११ करोड १६ लाख रुपैंया उद्योगले किसानलाई भुक्तानी समेत गरिसकेको छ, हाँमीले रोक्का गरेको उद्योगपतिको बैंक खातामा १ करोड ७३ लाख रुपैंया त्यतिकै बसिरहेको छ, उद्योपति पनि सम्पर्क विहिन हुनुहुन्छ अनि किसानले पनि पैसा पाएनौं भन्दै गुनासो गरिरहनु भएको छ ।’

उद्योगपति सम्पर्कमा नआउने अनि किसानहरु दिनहुजसो भुक्तानी पाएनौं भन्दै प्रशासन कार्यालय घेराउ गर्न आउने गतिविधीले आफू निकै अफ्ठ्यारोमा परेको समेत प्रजिअ पौडेलको भनाई थियो । ‘किसानको उखुको बाँकी बक्यौता भुक्तानीका लागि मैले सकेसम्म प्रयास गरिरहेको छु’, प्रजिअ पौडेलले भने, ‘किसानको बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएका उद्योगपति नै सम्पर्क बिहिन भएपछि के गर्नु ?’

अन्नपूर्ण सहित मुलुकभरका चिनी उद्योगले किसानको बक्यौता भुक्तानी नगरेपछि सरकारले उद्योगपतिहरुको बैंक खाता रोक्का गर्ने, चिनी बिक्रीमा नियन्त्रण गर्ने लगायत उपाय अपनाएको थियो । तथापी उद्योगपतिहरुले भने किसानको भुक्तानी दिन आलटाल गर्दै आएका छन् ।

सर्लाहीकै गोडैता नगरपालिका अन्तर्गत बगदह स्थित महालक्ष्मी सुगर मिलले भने किसानको गत विगत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको छ । प्रजिअ पौडेलले महालक्ष्मी सुगर मिलले किसानको गत विगत वर्षको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको जानकारी दिए ।